काठमाडौं १० पुस / भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ।
भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो। मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए।
उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने जानकारी दिए। धमलाले अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए।
हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने धमलाको भनाइ छ। यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा राखेको जानकारी दिए।
कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ। मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आँकलन गरेको छ। मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि उनको भनाइ छ।
