ढाका । बंगलादेशमा भएको निर्वाचनमा शेख हसिनाको पार्टीको जित पहिले नै तय भएको मानिएको छ ।
बंगलादेशमा जनवरी ७ मा आम निर्वाचन हुने भएपनि निर्वाचनको नतिजा भने तय भइसकेको बताइन्छ । त्यसको कारण देशको प्रमुख प्रतिपक्षी दलले निर्वाचन बहिष्कार गरेकोले हो ।
सबैभन्दा ठूलो विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्री शेख हसिना पदमा रहँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने विश्वास गरेको छ। यसको सम्पूर्ण विवादलाई विस्तृत रूपमा बुझ्ने प्रयास गरौं।
बीएनपीले किन गर्यो चुनाव बहिष्कार ?
बंगलादेशमा विपक्षी दललाई बेवास्ता गरी चुनाव हुन लागेको भन्ने भनाई प्रचारमा ल्याइएको छ । विपक्षीले हसिना सरकारले अलोकतान्त्रिक ढंगले चुनाव गराएको आरोप लगाएका छन् ।
विपक्षीले सत्तारुढ अवामी लिगकी प्रमुख हसिनाले आम निर्वाचनअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने र तटस्थ अन्तरिम सरकारको पर्यवेक्षणमा निर्वाचन गराउन माग गरेका छन् ।
प्रधानमन्त्री हसिनाले यी सबै माग अस्वीकार गरेपछि बिएनपीले चुनावमा भाग लिन अस्वीकार गरेको थियो ।
बिएनपीको आरोप के हो ?
बीबीसीसँग कुरा गर्दै बीएनपी नेता अब्दुल मोइन खानले भनेका थिए, "बंगलादेशमा प्रजातन्त्र मरेको छ। हामीले जनवरीमा जे देख्न गइरहेका छौँ त्यो एउटा नक्कली निर्वाचन मात्र हो। प्रधानमन्त्री हसिना पछिल्ला केही वर्षहरूमा बढ्दो निरंकुश बन्दै गएकी छिन् ।" ‘हसीना सरकारले बीएनपीका २० हजारभन्दा बढी कार्यकर्तालाई झुटो आरोपमा पक्राउ गरेको छ, र अन्य लाखौं पार्टीका कार्यकर्ता विरुद्ध मुद्दा चलाएको छ,’ उनले भने ।
बिएनपीको चुनाव बहिस्कारमा सरकारले के भन्यो ?
प्रतिपक्षी दलको निर्वाचन बहिष्कारबारे सरकारका कानूनमन्त्री अनीसुल हकले भने, "मतदानमा हुने जनताको सहभागिताले निर्वाचनको निर्धारण हुन्छ। यसपटक बिएनपीबाहेक अन्य धेरै राजनीतिक दलहरुले चुनावमा भाग लिइरहेका छन्।"
बिएनपीका कार्यकर्तालाई हिरासतमा राखेको आरोपमा उनले भने, "मैले छानबिन गरेँ, यो अपूर्ण जानकारी हो। २००१ र २००४ को निर्वाचनमा भएका हिंसात्मक घटनाका क्रममा पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन्।"
प्रतिपक्षको आरोपमा कतिको सत्यता छ ?
हालैको ह्युमन राइट्स वाचको प्रतिवेदनले विपक्षी कार्यकर्ताको गिरफ्तारीको पुष्टि गर्दै यसलाई हसिना सरकारको दमनकारी नीति भनेको छ।
हसिना सरकारको कार्यकालमा राजनीतिबाट प्रेरित पक्राउ, हत्या र शोषण बढेको तथ्यांकले देखाएको छ । धेरै विपक्षी नेता तथा कार्यकर्तालाई झुटो आरोपमा जबरजस्ती थुनामा राखिएको छ । निर्वाचनअघि बिएनपीलाई कमजोर बनाउन सरकारले जानाजानी यस्तो गरेको आलोचकहरुको तर्क छ ।
यस विषयमा पश्चिमा राष्ट्रहरुको धारणा के छ ?
बंगलादेश सरकारको दमनकारी नीतिका कारण अमेरिकाले यहाँ सीमित प्रतिबन्ध लगाएको छ । अन्य केही पश्चिमी देशका नेताहरूले पनि यसबारे चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले बंगलादेशमा सन् २००९ देखि हिरासतमा रहेका राजनीतिक विपक्षीहरूको समेत हत्या र अपहरणका सयौं घटनाहरू भएको बताएका छन्। डरका कारण स्थानीय पत्रकारले सरकार विरुद्ध बोल्न छोडेको उनको भनाइ छ ।
चिन र भारतसँग बंगलादेशको सम्बन्ध कस्तो छ ?
पश्चिमा देशको आलोचनाका बाबजुद बंगलादेशमा चुनाव हुँदैछ । यसले यसको बढ्दो आर्थिक शक्तिलाई देखाउँछ। चीनपछि बंगलादेश विश्वको सबैभन्दा ठूलो कपडा निर्यात गर्ने देश हो। तर चिनसँगको उसको सम्बन्ध त्यति प्रगाढ देखिदैन।
अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि भारत बंगलादेशसँग उभिएको देखिन्छ, नकी चिनसँग । भारत र बंगलादेश बीच वार्षिक २,००० करोड डलरभन्दा बढीको व्यापार हुन्छ। हसिना सरकारमा बंगलादेश–भारत सम्बन्ध सुदृढ भएको छ र भारतलाई चीन–पाकिस्तान विरुद्ध बंगलादेशको आवश्यकता छ ।
