बेरुत । इजरायलले लेबनानमा हमासका एक शीर्ष नेता सालेह अल अरोरीको हत्या गरेको छ। दक्षिण बेरुतमा भएको विस्फोटमा सालेहको मृत्यु भएको हो । अरोरीको मृत्यु बम विष्फोटमा भएको हो वा ड्रोन आक्रमणमा भएको हो भन्ने अझै स्पष्ट भएको छैन । सालेह अल-अरौरी हमासको सैन्य शाखाका संस्थापक सदस्यहरूमध्ये एक थिए। उनले वेस्ट बैंकमा हमासको नेतृत्व पनि गरिरहेका थिए । जहाँ हमासको प्रतिद्वन्द्वी फतह प्रभावशाली छ। लेबनानी मिडिया अल-मनारको रिपोर्ट अनुसार अल अरोरी इजरायली आक्रमणको लक्ष्य थियो। इजरायलले उनलाई यसअघि नै मोस्ट वान्टेड सूचीमा राखेको थियो। लेबनानी मिडिया अल मनार र अल-मायादीन च्यानलले आफ्नो रिपोर्टमा हमासको कार्यालयलाई निशाना बनाएर विस्फोट गराएको दाबी गरेका छन ।
सालेह अल अरोरीको मृत्युपछि इजरायलमा खुसी मनाइयो
इजरायलमा हमासका शीर्ष कमाण्डर सालेह अल-अरौरीको मृत्युपछि त्यसको खुसी मनाइँदैछ। इजरायली सांसदले अल-अरौरीको हत्याको लागि देशको सुरक्षा सेवाहरूलाई बधाई दिएको छ । ड्यानी ड्यानन यसअघि संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत थिए। उनले सामाजिक सञ्जाल पोस्टमा बेरुतमा भएको आक्रमणको प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘अक्टोबर ७ हत्याकाण्डमा जो कोही पनि संलग्न थिए, उनीहरुलाई थाहा हुनुपर्छ कि हामी उनीहरुसम्म पुग्छौँ र उनीहरुलाई कारबाही गर्छौँ ।
लेबनानी प्रधानमन्त्री इजरायलप्रति आक्रोशित
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले अल-अरौरीको हत्या लेबनानलाई द्वन्द्वको नयाँ चरणमा लैजाने उद्देश्यले देशको दक्षिणी भागमा दैनिक आक्रमण जारी रहेको बताएका छन । मिकातीले इजरायललाई सीमामा बढ्दो तनाव र हमला सुरु नगर्न चेतावनी पनि दिएका छन्। गाजा पट्टीमा आफ्नो असफलता लुकाउन इजरायलले दक्षिणी सीमामा तनाव बढाएको उनले आरोप लगाएका छन् । उनले इजरायली नेताहरूलाई आगोसँग नखेल्न समेत चेतावनी पनि दिए।
सालेह अल-अरौरी को थिए ?
सालेह अल-अरौरी हमासको राजनीतिक ब्यूरोका उपप्रमुख थिए र प्यालेस्टिनी समूहको सशस्त्र शाखा अल कसम ब्रिगेडका संस्थापकहरूमध्ये एक थिए। उनको जन्म १९६६ मा कब्जा गरिएको वेस्ट बैंकको रमल्लाहमा भएको थियो। इजरायलको जेलमा १५ वर्ष बिताएपछि उनी लामो समयदेखि लेबनानमा निर्वासित जीवन बिताइरहेका थिए । हालका हप्ताहरूमा उनले गाजा युद्धमा हमास र यसको रणनीतिका लागि प्रवक्ताको रूपमा काम गरेका थिए । गत महिना, उनले अल जजीरासँग भनेका थिए कि हमासले गाजामा इजरायली आक्रमण समाप्त गर्नु अघि कैदीहरूको अदलाबदलीमा कुनै छलफल गर्दैन। अक्टोबरमा, इजरायली सेनाले रामल्लाह नजिकैको उनको घर भत्काइदिएको थियो। अमेरिकी सरकारले सन् २०१५ मा उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो र उनको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कारको घोषणा पनि गरेको थियो ।
