अरू धर्मावलम्बीको बारेमा बोल्यो भने धार्मिक असहिष्णुता र सामाजिक सद्भाव खल्बलाएको हुने तर हिन्दू आस्था मान्नेहरू विरूद्धमा विषबमन गरे न्याय मागेको हुने ? अरू जातजाति, भाषा, समुदायका बारेमा चर्चा गरे हेपेको हुने तर बाहुन, क्षेत्री खसको बारेमा तथानाम मनपरी बोले पनि सामान्य र जायज मानिने ? यस्ता व्यवहारलाई बेलैमा जिम्मेवारहरूले सम्हालेनन् भने देश अझै ठूलो प्रतिक्रियात्मक द्वन्द्व र प्रतिकारमा जानसक्छ ।
हिन्दूका आस्थाका सबै पक्षमाथि निरन्तर आघात गरिँदै गरेको र अहिलेका जिम्मेवार पदमा रहेका नेताहरू र सरकारका जिम्मेवारहरूको मौन समर्थन र पुट मिलिरहेको जनताले प्रष्ट देखिरहेका छन् । यो भीषण खराब संकेत हो । यसमा अब पनि सचेत भइएन भने यसको नतिजा ज्यादै अप्रिय हुने अवश्यंम्भावी छ । नेपालीको भाषा, संस्कृति, परम्परा, मान्यता, श्रद्धा र आस्थाका वस्तुहरूविरूद्ध मनपरी बोलेर समाजमा वैमनष्यता बढाउन खोज्नेहरूको मुख थुनियोस् र मुख छाडाहरूलाई कानुनको कठघरामा उभ्याइयोस् ।
नेपालमा बाहुन, क्षेत्री र खसको जनसंख्या ३३% छ र हिन्दू सनातनी दशनामी गरी ९४% भर्खरैको जनगणनाले देखाएको छ । यिनमा विविधतायुक्त अरू जातजाति वा समुदायहरू जस्तो भन्दा भाषा, मान्यता, परम्परा, धार्मिक प्रचलन, देवीदेउता, कर्मकाण्डमा समानता र एकरूपता पनि बढी छ । हिन्दू सनातनी शास्त्रहरू र संस्कृत, भाषा, साहित्य, नैतिक एवं जीवन मूल्यमान्यताबाट दीक्षित भएका र हजारौँ वर्षदेखि बुद्धि खेलाउने पेशा र काम परम्परागत ढंगमा गरिआएकाले यिनमा आत्मविश्वास, सहनशीलता र क्षमता पनि बढी छ । समाजमा सहनशीलता कमजोरी होइन, यो सबैले बुझ्न जरूरी छ । शक्तिशाली, आत्मविश्वासी, बुद्धिमा विश्वास गर्ने र बलियाहरू बढी सहनशील हुन्छन् । कमजोर आत्मविश्वासका मानिसहरू बढी आक्रोशित र असहिष्णु हुन्छन् ।
कसैलाई खुइल्याएर न्याय पाइन्छ भन्ने भ्रम कसैमा अझै छ भने आजैदेखि बागमतीमा सेलाइदिऊन् । अर्काको आस्थाका धरोहर गाईगोरू मार्ने, झण्डा जलाउने, मन्दिर भत्काउने, पुजारी मार्ने, संस्कृत भाषा, साहित्यविरूद्ध जहिलेसुकै मनपरी विष ओकल्नेहरू अहिले सुरक्षित छु भन्ने ठाने पनि समाजमा सधैँ सुरक्षित नहुन सक्छन्, कालान्तरमा त्यसको प्रतिक्रियाबाट गम्भीर प्रताडित हुने सम्भावना रहन्छ ।
बहुल आस्थाको हाम्रो विविधतायुक्त सहिष्णु नेपाल भूमिमा सबै जिम्मेवार हुन जरूरी छ । आफ्नो अधिकार खोज्दा अरूको आस्थामा कदापि धावा बोल्नु हुँदैन । यो भ्रमबाट सबै जागून् । समाजमा बसेपछि अरूको आस्थामा घात गर्नु असामाजिक प्राणी बन्नु हो । हिन्दू चलनमा शाकाहारीलाई उच्चस्तरको खाना मानिन्छ र विश्वमा अहिले शाकाहारीको संख्या बढ्दो छ । नेपालमा भैंसी, रॉगा, गाई, गोरू काटेर खान पाइएन भनेर रडाको गर्दै आपसमा किन वैमनश्यता सिर्जना गर्न खोजेको होलान् ? के यी पशु नखाए मरिहालिन्छ ? अचम्म लाग्छ । समाजमा सहअस्तित्वमा पनि बस्नुपर्ने र अर्काको श्रद्धाको पूजा गर्ने देउतासरह मान्ने जस्तो सम्वेदनशील विषयलाई पनि दुत्कार्ने मानिस कहीँ सामाजिक प्राणी हुन सक्छ ? अर्काको सम्मान गरेर बस्ने समाज राम्रो कि तेरो श्रद्धा भॉडमा जाए भन्ने समाज ठिक ?
समाजमा द्वन्द्व र विग्रह निम्त्याउने, त्यसमा पनि यदाकदा मासु खानका लागि प्राण लिनैपर्ने किन होला ? मासु ठूलो कि आपसी सद्भाव र सामाजिक अमनचयन ? त्यसमाथि पनि रातो मासु ठिक होइन । स्वास्थ्य वैज्ञानिकहरू नै भनिरहेका छन्, सात्विक भोजन अध्यात्मिक शारीरिक दृष्टिले उत्तम हुन्छ नभए राजसी भोजन ठिक छ । तामसी भोजनले दिमाग पनि तामसी बनाइदिन्छ र समाजमा सधैँ पछि परिन्छ र इज्जत पनि पाइँदैन । तामसी भोजन गर्ने समाज शान्त र दिगो हुँदैन, युद्धपिपासु हुन्छ ।
हिन्दू सनातनी पद्धति जतिको सहिष्णु विश्वमा अरू कुनै पद्धति छैन । ‘बसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिन’ जस्ता कालजयी विश्वदृष्टि यसमा नै छ । सनातन हिन्दू भनेको विश्वभरिका सबै धर्म र आस्थाका मानिसलाई हजारौँ वर्षदेखि शरण दिँदै आएको समाज हो । अन्य आस्था र मुलुकका मानिसहरू हजारौँ वर्ष अघिदेखि आफ्नो समाजमा प्रताडित भएर लखेटिदै जादै गर्दा भारतवर्षमा आएर ओत र स्वतन्त्रता पाएका थिए । विश्वबाट यतातिर आउने मानिस कि ज्ञानको खोजमा कि आध्यात्मिक शान्तिका खोजमा आएका हुन् । कुनै हिन्दू अर्को धर्म वा आस्था भएको अन्य मुलुकमा आक्रमण गर्न गएको इतिहास नै छैन । किनभने परिपूर्ण आध्यात्मिक हिन्दू सनातनी प्रणालीभित्र विश्वका सबै पन्थ समाहित भएका हुन्छन् । ईश्वर एउटै हुन्, मार्ग फरक हो– सनातन भन्छ ।
जब हिन्दूहरूमाथि पराया धर्मबाट परदेशबाट आएर आक्रमण हुन थाल्यो र आफ्नो पहिचान, ज्ञान र अस्तित्व समाप्त पार्न खोजियो, त्यसपछि हिन्दू समाजमा पनि कट्टरपना विकसित हुँदै गयो । आफ्नो परिवार, गोत्र, नश्ल, संस्कृति, पहिचान र अस्तित्व जोगाउन कडा कडा सामाजिक, पारिवारिक नियमहरू र आचारसंहिता स्थापित हुँदै गएको हो । हिन्दू आस्थामाथि हजारौँ वर्षसम्म मुसलमान, ईसाई र बौद्धवादीको दमन हुँदै गरेपछि आदि शंकराचार्यको नेतृत्वमा हिन्दू पुनर्जागरण हुँदै गयो ।
नेपालमा पनि उदार बहुसंख्यक हिन्दू आस्था परम्परामाथि यता आएर अल्पसंख्यक गैरहिन्दू, हिन्दू विरोधी, हिन्दू मास्ने मिशनमा पराया मुलुकको उक्साहटमा लागेका र कथित नास्तिक तर भित्रभित्र पराया धर्मपोषक राजनीतिक वर्गहरूबाट घोर अतिक्रमण, विरोध वा उक्साउने खालका दमनहरू हुन थालेको महसुस गरिँदैछ । हिन्दू सनातनी मन्दिर, मठ, संस्थाहरू धर्म नमान्ने, परायाधर्मी र हिन्दू विरोधीहरूको कब्जामा छ । धर्मनिरपेक्ष सरकार भन्ने तर हिन्दू सनातनी बौद्धमार्गी धार्मिक संस्थालाई सरकारले चलाउने गरिएको छ । अरू धर्मका संस्थामाथि कुनै नियन्त्रण छैन, स्वतन्त्र राखिएको छ । हिन्दू बौद्ध संस्थाहरूमाथि मात्र किन सरकारको नियन्त्रण ? यसले नेपालमा आजसम्म रहिआएको उदार हिन्दू समाज हैन, निकट भविष्यमा कट्टर हिन्दूवादको प्रादुर्भाव नहोला भन्न सकिन्न । क्रियाको प्रतिक्रिया हुन्छ नै । यो भौतिकशास्त्रको मात्र हैन, समाजशास्त्र र राजनीतिशास्त्रको पनि नियम हो ।
भीम उपाध्याय
