थारु संस्कृति जोगाउन देशविदेशमा माघ महोत्सव

थारु संस्कृति जोगाउन देशविदेशमा माघ महोत्सव


  • 15.5K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 23.8K Views

    थारु संस्कृति जोगाउन देशविदेशमा माघ महोत्सव

    दाङ, १८ पुस । तराईका आदिवासी धर्तीपुत्र थारु समुदायले आफ्नो संस्कृति जोगाउनको लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० लगाउने भएका छन् । थारु कल्याणकारिणी सभा लगायत दर्जनौं थारु संघसंस्थाको संयुक्त आयोजनामा पुस २० र २१ गते महोत्सवको आयोजना गरेका हुन् । 

    images

    थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्र्धनसँगै जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनले दाबी गरे ।

    ‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्धिमा हाम्रो योगदान’ भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न थालिएको छ । महोत्सवमा थारु परिकारहरु माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोकल भालेको मासु, मुसाको मासु,  ढिक्री, अनदीको रोटी, झोलसहितका परिकारहरु बिक्रीवितरणको लागि राखिने संयोजक चौधरीले बताए । थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका दर्जनौ पुस्तक, पत्रपत्रिकाहरु समेत बिक्रीवितरणको लागि राखिने छ । थारु हस्तकलाका सामानहरु ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छटरी, खटिया, डोली, डोला, थारु गरगहनासँगै मिनी थारु संग्रहालय लगायत प्रदर्शनीको लागि राखिने उनले बताए । 

    महोत्सवमा ६ दर्जनभन्दा बढी मघौटा, हुर्डुग्या, छोक्रा नाचको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए । जिल्लाका सबै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुतिसहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए ।   

    पुस २० र २१ गते हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक चौधरीले पत्रकार भेटघाटमा जानकारी दिए । महोत्सवको उद्घाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्ने आयोजक संस्थाले जनाएको छ । पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सविन प्रियासन लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष दहितले गरेका थिए ।

    थारु समुदायले माघ पर्वलाई महान पर्वको रुपमा मनाउँदै आएका छन् । उनीहरुले माघीलाई नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन् । हरेक वर्ष माघी आएसँगै दाङ लगायत तराईका थारु बाहुल्य थारु वस्तीमा अहिलेदेखि नै माघीको रौनक छाएको छ । माघ थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्षको रुपमा मनाउँदै आएको थारु साँस्कृतिक अभियन्ता समेत रहेका थारु अगुवा भुवन चौधरीले बताए । माघीमा गाउँका महटावा चयन गर्नेदेखि बितेको वर्षको कामहरुको समीक्षा र आउने वर्षको योजना निर्माण पनि गरिने उनले बताए ।

    पछिल्लो समयमा स्वदेशमा मात्र नभई विदेशमा समेत माघ साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ । विदेशमा बस्ने थारु समुदायले माघीको अवसरमा माघ विशेष कार्यक्रम गर्दै आएको थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष कन्हैलाल चौधरीले बताए । आफूहरुले यो वर्ष पनि जापानमा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार सो कार्यक्रम जनवरी १४ अर्थात पुस २९ गते आयोजना गरिएको छ । दुबई, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायत देशहरुका माघ विशेष कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।