काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरकारले हालै ल्याएको विद्यालय शिक्षा विधेयकमाथि छलफल चलिरहेको छ । शिक्षा विधेयकलाई समृद्ध बनाउन शिक्षक र शैक्षिक सरोकारवालाहरुसँग छलफलमा केन्द्रित भइरहेको संसदीय समितिको छलफलमा विधेयकमा अविभावक कहाँ छन भनी प्रश्न उठेको हो ।
बिहीबार समितिमा अभिभावक संघ, संगठन र महासंघका अधिकारीहरुलाई छलफलमा डाकिएको थियो । उनीहरुले विधेयकमा अभिभावकलाई वेवास्था गरेको आरोप लगाएका हुन् ।
शिक्षक महासंघलाई महत्व दिएजस्तै अभिभावक महासंघलाई समेत विधेयकमा महत्व दिइनुपर्नेमा उनीहरुको जोड छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘विधेयकमा शिक्षकलाई जति प्राथमिकता दिएको छ । अभिभावकलाई पनि समेटिएको भए सहअस्तित्वको भावना हुन्थ्यो । यो हुन सकेको छैन ।’
विधेयकमा अविभावक बारेमा एक शब्द पनि उल्लेख नभएको भन्दै उनले प्रश्न गरेका हुन् । उनी प्रश्न माथि प्रश्न गर्छन, ‘यो विधेयक कसको लागि हो ? शिक्षकलाई सम्मान गर्नुपर्छ । उहाँलाई समान नगरेसम्म शिक्षाको विकास हुदैन । तर अविभावक र विद्यार्थीको कुरा छैन, यस्तो किन गरिएको छ ?’
प्रस्तावित विधेयकमा अभिभावक संघ संगठन र महासंघलाई राष्ट्रिय चिनारी गरिदिन उनको आग्रह छ । अन्यथा शिक्षा विधेयक हाम्रो होइन भन्ने अविभावकहरमा पर्ने उनको चेतावनी छ ।
२७ भदौ २०८० मा शिक्षामन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ मा विद्यालय शिक्षा विधेयकका सन्दर्भमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको दायीत्वबारे समावेश छ । यो विधेयकलाई संविधान कार्यान्वयनसँग समेत जोडिएकाले चासोका साथ हेरिएको छ ।
विधेयकमाथि १६५ वटा संशोधन प्रस्ताव परेको छ । विधेयकमा अनेकन त्रुटी र विवादित विषय भएको भन्दै यसअघि सरोकारवालाले आपत्ति जनाउँदै आएका थिए । सरकारले संशोधन गर्ने सहमति पनि गरेको थियो । सांसदहरूले विधेयकमाथि समस्याका चाङ देखाउँदै संशोधनका लागि बुँदागत रूपमा प्रस्ताव गरेपछि संसदीय समितिले दफावार छलफल चलाउनु अगाडि सरोकारवालाहरुसँग छलफल चलाएको हो ।
