• ट्रेण्डिङ्ग :
आँखाको ज्योति फर्किएसँगै बा-आमाहरू खुसी भए

आँखाको ज्योति फर्किएसँगै बा-आमाहरू खुसी भए


  • 3.1K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    आँखाको ज्योति फर्किएसँगै बा-आमाहरू खुसी भए

    कपिलवस्तु । बुद्धभूमि नगरपालिका –९ की फुलकली थारु ७२ वर्ष पुगिन् । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दिन्न नै, उमेर ढल्कँदै जाँदा श्रवण शक्ति कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उनका दिन निकै कष्टपूर्ण बने । असाध्यै अप्ठ्यारोमा परे पनि उनको सुविधा सम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । गाउँमा शल्यक्रियासहितको आँखा शिविर घर नजिकैको इमिलिया बरकुलपुर् स्वास्थ्य चौकीमा आउने सुनेपछि उनी छोराको सहयोगले उपचारमा पुगिन् । शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरू जवान हुँदाका जस्तै तेज भएपछि फुलकली खुसी छिन ।

    images

    2.jpg

    उनी मात्रै होइन उनी जस्तै बुद्धभूमि ४ बुड्ढिकी ६४ वर्षीय मनमाया कुमाल वर्षौँपछि आँखा देख्दा दङ्ग परिन्। लामो समयपछि आँखा देख्न पाउँदा उनको अनुहार खुसीका आँसुले भिजेको थियो। ६८ वर्षीय भग्गन थारुको अनुहारमा पनि चमक देखिन्थ्यो। मोतीबिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न पाएकोमा उनी निकै खुसी देखिन्थे। ‘आँखा नदेख्दा खान, लगाउन र हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्थ्यो। अब त आफैँ ’round गर्न सक्ने भएँ’, उनले भने। आँखाको ज्योति गुमाएपछि कैयौँ पटक लडेको बताए। ‘कहिले घरमै लडेँ त कहिले हिँड्दा र काम गर्दा लडेँ। शरीरले हार नखाए पनि आँखाको शक्ति कमजोर हुँदा जीवन ओछ्याउनमै बित्ने भयो भन्ने लागेको थियो तर पुनः संसार देखेँ’, ७१ वर्षीय माया दर्लामीले बताइन्।

    फुलकली, भग्गन र माया मात्रै होइन उनीहरू जस्तै ‘छिमेकीको साथमा लागेर अप्रेसन गर्न आएका रामशेवकले भने, ‘मोतियाविन्दूको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिए धन्यवाद नगरपालिका सरकार। शिविरमा आएकाहरू बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुसी एक अर्कामा साटिरहेका थिए। ‘आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ रामशेवकले भने, ‘अब आँखा देख्ने भएका छौँ, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो।’

    4.jpg

    उनले आँखा बन्द भएपछि परिवार र आफन्तले गर्ने दुर्व्यवहारले सारै पिरोल्ने गरेको अनुभव सुनाए। ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’ उनले भने, ‘ज्योति फर्कियो आफ्नो काम आफै गर्न सक्छु, अब कसैले हेला नगर्लान्।

    बुद्धभूमि नगरपालिका र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोगमा २ दिन सम्म सञ्चालन भएको निःशुल्क आँखा स्वास्थ्य शिविरबाट १ हजार ५ सय ७८ जनाले सेवा लिएको बुद्धभूमि नगरपालिका वडा ९ का वडा अध्यक्ष प्रमोद आचार्यले बताए। दुई दिन सम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका सेवाग्राही खुसी भए । उक्त शिविरमा १४६ जनाको मोतियाविन्दूलगायत आँखाका समस्याको शल्यक्रियासहितको उपचार भएको छ । जस मध्य ८५ जना महिला र ६१ जना पुरुषले सेवा लिएका छन्। आँखा जाँच गराएका १५ सय ७८ जना मध्य आवश्यकताका आधारमा ५ सय ४९ जनालाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको वडा अध्यक्ष आचार्यले बताए।

    प्रत्येक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको नगरपालिकाले साप्ताहिक रूपमा नगरपालिकाको भवनमै निःशुल्क आँखा शिविरको व्यवस्था गर्दै आएको छ। बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरवासीको स्वास्थ्य प्रति संवेदनशील भएर लागेको बताए। ग्रामीण क्षेत्रका अधिकांश बासिन्दामा समयमा आँखा जाँच नहुँदा मोतीबिन्दुका कारण ज्योति गुमाउनुपर्ने बाध्यता रहेको उनले बताए। नगरवासीको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न समय र स्थानमा नगरपालिकाले शिविरहरू गर्दै आएको उनले बताए। स्वास्थ्य नै अमूल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख श्रेष्ठको भनाई छ। उनले मोतिया विन्दुका कारण दुवै आँखा देख्न नसक्ने स्थिति आउन नदिन नगरपालिकाले शल्यक्रियासहितको शिविर आयोजना गरेको प्रस्ट पारे।


    तेस्रो आँखा