काठमाण्डाैं,२२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधिसभामा एमालेले गरेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेका छन् । बिहीबार बेलुकी राष्ट्रपतिलाइ भेट्न शितलनिवास पुगेका देउवाले यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री वीचको यो नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । धेरै संवैधानिक प्रबन्धहरू नै छन्, त्यही अनुसार प्रधानमन्त्रीज्यूसँग भेटवार्ता भएको हो, उनले भने । भेटमा देउवाले पछिल्ला राजनीतिक घटनाक्रम, कोरोना भाइरस रोकथाम, समसामयिक परिस्थितिबारे भण्डारीसँग छलफल गरेका छन् । स्रोतका अनुसार देउवाले राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमै सक्रिय बनेका हुन् । बिहीबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दलका नेताहरूले प्रधानमन्त्री देउवालाई संसद्मा जारी अवरोध खुलाउने विषयमा पहल लिन आग्रह गरेका थिए ।
