गढवा, ६ माघ । १४ औं राष्ट्रपति रनिङ शिल्ड तथा गढवा गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग एवं जनता माध्यमिक विद्यालय कालाकाटे,दाङको आयोजनामा २०८० माघ ३-५ गतेसम्म संचालन भएको उक्त खेलकुद कार्यक्रमको आज एक कार्यक्रमबीच समापन गरिएको हो ।

आयोजक विद्यालय श्री जनता माध्यमिक विद्यालय कालाकाटेका विव्यस अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद ईन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास), गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम विक र गढवा गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुले विभिन्न खेलका विजेताहरुलाई प्रमाणपत्र तथा मेडल, ट्रफी, कप र शिल्ड वितरण गरेका थिए ।

प्रतियोगितामा मावितर्फ प्रथम सरस्वती मावि विद्यानगर, द्वितीय जनता मा.वि.गढवा र तृतीय मावि चैनपुर भएका थिए । त्यसैगरी आधारभूत तहतर्फ प्रथम शुभतारा मावि गढवा,द्वितीय मावि पचहिया र तृतीय मुनामिलन ई.बो.स्कूल गंगापरस्पुर तथा प्रावि तर्फ प्रथम मावि चैनपुर, द्वितीय राप्ती साउथर्न मावि रामनगर र तृतीय सरस्वती आवि चन्दनपुर भएका थिए ।

यसैबीच आगामी वर्ष २०८१ मा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने जिम्मा जनता मावि गढवाले पाएको छ । यस वर्ष प्रतियोगिता आयोजना गरेको आयोजक विद्यालय जनता मावि कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासेले जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादवलाई २०८१ मा प्रतियोगिता संचालनको लागि झण्डा हस्तान्तरण गर्नुभएको हो ।
