तेस्रोआँखा डेस्क : इजरायल र हमासबीच तीनमहिनादेखि जारी युद्धमा २५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार यो जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-किद्राका अनुसार विगत २४ घण्टामा गाजाका अस्पतालहरूमा कम्तीमा १७८ शव र करिब ३०० जना घाइते आएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार इजरायल–हमास युद्धमा महिला र बालबालिका सबैभन्दा बढी पीडित छन् । गत अक्टोबर ७ मा, हमासले अचानक इजरायलमा आक्रमण गरि करिब १२ सय मानिसहरूलाई मारेका थिए, जसमध्ये धेरै जसो सर्वसाधारण थिए।
आक्रमणकारीहरूले पुरुष, महिला र बालबालिकासहित करिब २५० जनालाई बन्धक बनाएका थिए। त्यसपछि इजरायलले हवाई अभियानका साथै प्रतिशोधात्मक हमलाहरू सुरु गर्यो र उत्तरी गाजामा जमीन आक्रमणहरु पनि सुरु गर्यो जसका कारण लगभग सम्पूर्ण क्षेत्र नष्ट भएको छ । इजरायली भू-कार्यहरू अब दक्षिणी शहर खान युनिस र मध्य गाजामा निर्मित शरणार्थी शिविरहरूमा केन्द्रित छन्। गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता उक्त क्षेत्रमा २५ हजार १०५ प्यालेस्टाइनीहरुको मृत्यु भएको र अन्य ६२ हजार ६८१ जना घाइते भएको जनाएको छ।
प्रवक्ताले भने कि इजरायली हमलाका कारण धेरै व्यक्तिहरू भग्नावशेषमुनि दबिएका छन्, जहाँ चिकित्सकहरू पुग्न सकेका छैनन । मन्त्रालयले मारिएका सर्वसाधारण र लडाकुको संख्यामा के भिन्नता छ भन्ने बारे कुनै सटीक जानकारी उपलब्ध गराएको छैन। तर, मारिनेमा दुई तिहाइ महिला र नाबालिग रहेका छन् । इजरायली सेनाले कुनै प्रमाण नदिई करिब ९,००० विद्रोही मारिएको दाबी गरेको छ।
