काठमाडौं, ९ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको निमित्त आन्दोलनको विकल्प नभएको भन्दै परिवर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका छन् । आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रममा बोल्दै थापाले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
एक्लैएक्लै आन्दोलनमा जाँदा प्रभावकारी नभएको तथा विगतको लामो अभ्यासले पनि त्यो पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनमा जानको लागि मोर्चा निर्माण जरुरी भएको विचार व्यक्त गरे । एक्लाएक्लै विभक्त भएर आन्दोलन गर्ने कुरोले अहिलेको विकृति र बेथितिलाई नै मलजल हुने र मुलुक ब्रम्हलुटको यथास्थितिमै अघि बढिरहने भएको हुँदा परिवर्तन चाहने शक्तिहरु, एजेन्डा मिल्ने शक्तिहरु, सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादीहरु मिलेर मोर्चा निर्माण गरि आन्दोलनमा जानुको बिकल्प नभएको थापाको स्पष्टोक्ति थियो ।
उनले भने, “एक्लाएक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्षरुपमा राजसंस्था, हिन्दूराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ । अहिले आन्दोलनको लागि समयअनुकूल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सीमा नाघेकोले जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।
विदेशी शक्तिको चाकरीबाट मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने भन्दै थापाले मुलुकले अहिले राष्ट्रवादी शक्तिहरुको स्वाभिमानी आन्दोलन खोजिरहेको टिप्पणी गरे । उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानसङ्गै आन्दोलनको तयारीमा युद्धस्तरमा जुट्न थापाले सबैलाई निर्देशन दिए । काठमाडौंको १० वटै क्षेत्रमा १५ दिनभित्र कार्यक्रम राखिने पार्टीले जनाएको छ ।
