एजेन्सी, २५ पुस । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठुलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ । मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरु चढेका झन्डै १००० वटा सवारीसाधन अलपत्र परेका हुन् ।
स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुषर, दुई महिला र १० बालबालिका भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार २२ वटा शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
अधिकांश मृतकहरु हिउँमा फसेका चारवटा गाडीमा थिए । ज्यान गुमाउनेमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना छन् । त्यसैगरी मार्दनबाट आएका चार नातेदार र अर्कौ परिवारका सात जनाको पनि मृत्यु भएको छ ।
सेनाले ३०० भन्दा बढीको उद्धार गरिएको जनाएको छ । सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेका छ ।
इस्लामावादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरुको सङ्ख्या उच्च भएकोले संकट सिर्जना भएको बताइएको छ । मरि नगरमा केही दिनयता एख लाख वटाभन्दा बढी गाडी पुगेका छन् । शनिबारसम्ममा ठूलो हिमपात भएपछि तथा सवारीसाधनको चाप बढेपछि सरकारी अधिकारीहरुले उक्त नगरलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ ।
त्यहाँ मानिसहरुले भयानक अवस्थाको सामना गरिरहेको पनि बताइएको छ । स्थानीयवासीहरुले त्यहाँ फसेका पर्यटकलाई ओढ्ने उपलब्ध गराएको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
