• ट्रेण्डिङ्ग :
नेताहरुले उडाएको दूषित ‘बतास’ 

नेताहरुले उडाएको दूषित ‘बतास’ 


  • 10.4K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    नेताहरुले उडाएको दूषित ‘बतास’ 

    काठमाडौं, २५ पुस। कहिले ‘यती,ओम्नी’ हरुले नेपाली राजनीतिमा ‘तरंग’ ल्याए । राजनीतिक दलका ‘हेभिवेट’ नेताहरुको ‘कनेक्सन’ मा अगाडी बढेका यती ओम्नीहरुले नेपाली समाजलाई ‘नेता र अर्थ’ बीचको घनिष्ठताबारे राम्रो सन्देश दिए । नेपाली राजनीतिलाई व्यापारिक घराना, ठेकेदार तथा माफियाहरुले ‘ड्राईभ’ गरिरहेको सन्देश पाईरहेको नेपाली समाजका सामु दल र नेता ‘छिछि र दुरदुर’कै अवस्थामा पुग्दैछन्, यो समाज बोलिरहेको छ ।

    images

    त्यसो त, कांग्रेसको महाधिवेशनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नेताहरुलाई कुकुर आयो’ भनेर गाउँमा भन्न थालेको भाषण गरेपछि केपी ओली, माधव कुमार नेपाल, पुष्पकमल दाहाल जस्ता हेभिवेट नेताहरुले लिङ्देनको उछितो काडे । तर उनीहरुको उछितोका सामु ओम्नी र यती ‘हर्कत’ को प्रश्न उठाउने हो भने त नेपाली समाजले के लिङ्देनले भनेजस्तै नभन्ला त ? हेभिवेटहरुकै कनेक्सनमा ओम्नी यतीहरु आए, गए । नेपाली राजनीतिमा ओम्नी र यतीको विषय पनि सेलाउँदै गयो ।

    नेपाली राजनीतिमा अहिले पनि विद्यमानमा अर्को तरंगको विषय एमसीसी बनिरहेकै छ । सत्ता गठबन्धनको आयु माथिनै धावा बोलिरहेको एमसीसी नेपालको राजनीतिमा झन ठूलो तरंग बनेको छ । एमसीसी पास गर्न हुन्छ र हुन्न भन्ने दुईधारको नेपाली धारणाको निचोड के हुने ? भन्ने अन्यौलताले नेपाली समाजलाई राजनीतिक दलप्रति हेर्ने दृष्टिकोणलाई थप दूषित बनाइरहेकै छ । 
    त्यसो त, यो विषय पनि ओम्नी र यतीकै जस्तै हेभिवेटहरुको स्वार्थ पक्कै छ । पास हुनुपर्छ भन्नेहरुले यसको विशेषताको तर्क भन्दा पनि ‘पास हुनै पर्छ, गराएरै छोडिन्छ’ भन्दै बोल्ने ‘धावा’ ले नेपाली समाज ‘कन्फ्युजन’ मा छ । अनि ‘पास हुनु हुँदैन’ भन्ने हरुले यसको नकारात्मक पक्षलाई आम नेपाली सामु एक एक केलाएर यसका सम्भावित दुरगामी असरहरुका बारेमा नबोल्नुले पनि नेपाली समाजलाई ढाँटिरहेकै छन् ।

    खैर ! दलहरुबीचको ‘एमसीसी लडाई’ तत्कालै साम्य भएर नेपाली राजनीति एमसीसी तरंगबाट उन्मुक्त हुने सम्भावना त झिनो छ नै । एमसीसीमै अल्झिरहेको नेपाली राजनीतिलाई नारायणहिटिमा चलेको बेजोड ‘बतास’ ले पुनः राजनीति ‘ओज’ लाई उडाई दिएको छ । बताससँग आरजु राणा देउवाको संलग्नता रहेको चर्चा चल्नुले बताससँगको साईनो सिधै प्रधामन्त्री शेरबहादुर देउवासँग छ कि भन्ने आशंका जन्माईदिएको छ ।

    त्यसो त, देउवा निकटताका कारण पनि बतास समूह ‘उड्न’ पाएको लख काटिएका छन् । योगेश भट्टराई पर्यटनमन्त्री हुँदा उनले नै बतासलाई नारायणहिटीमा प्रवेश गर्न दिने भनेर बोल्नुले अर्का हेभिवेट मध्यकै ‘बतास कनेक्सन’ उदांगियो । बतास कम्पनका मालिक आनन्द बतासले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको ज्वाईँ नै भएको बताएपछि त नेपालको राजनीति र व्यापारिहरुसँगको नेताहरुको साँठगाँठको लीला छरपष्टै भयो ।

    पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटीमा हुईकिन थालेको बतासमाथि सन्नाटा ल्याईदिए । अनि नेताहरुको कनेक्सनका ‘बतास गाथा’ हरु सार्वजनिक हुँदै गए । बतास ठिक हो या हैन ? यात नारायणहिटिमा ‘व्यापार’ चलाउन उसले मिल्छ वा मिल्दैन ? कनेक्सन जोडिएका नेताहरु यी प्रश्नको डिफेन्समा छैनन् । बरु बताससँगको साईनो मेट्नमै उद्धत छन् । यसले पनि बतास ठिक हैन भन्ने सन्देश आमजनमानसमा गएको त छ नै, त्यससँगै नेताहरुको ‘सम्बन्ध’ गलत ‘बतास’ हरु सँगै उडिरहेको छ भन्ने प्रमाण पनि पेश भएको छ ।