काठमाडौँ । भारतले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आजको खेल जित्न नेपाललाई २९८ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनको मांगाउँ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सचिन दास र कप्तान उदय सहरनको शतकीय पारीको सहायतामा निर्धारित ५० ओभरमा ५ विकेट मात्र गुमाएर २९७ रन बनायो।
भारतका लागि दासले १०१ बलमा ११ चौका र ३ छक्का हान्दै सर्वाधिक ११६ रन बनाए भने कप्तान उदय सहरनले १०७ बल खेलेर ९ चौका प्रहार गर्दै १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए।
चौथो विकेटका लागि सहरन र दासले २१५ रनको कीर्तिमानी साझेदारी गरे।
यी दुईले शिखर धवन र सुरेश रैनाले भारतका लागि गरेको चौथो विकेटको साझेदारी भंग गरे।
सन् २००४ मा भएको यू-१९ विश्वकपमा रैना र धवनले १३४ रनको साझेदारी गरेका थिए।
नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए।
