दाङ,कात्तिक १३ ।
केहि समय अघि नेपालगन्जमा चिकित्सक माथि कुटपिट गर्ने तुलसीपुरका मानबहादुर रावत सहित ८ जनालाई प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिएको छ । उनिहरुलाई जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले तुलसीपुरबाट नियन्त्रणमा लिएको हो ।
रावत संगै कांग्रेसका सुरेन्द्र हमाल,दिपेन्द्र गिरी सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत,मिनकेतन गिरी,बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । उनिहरु तुलसीपुर ६ रजौरा स्थित बिष्णु आचार्यको खाली घरमा कौडा खेलिरहेका थिए ।
कौडा सहित पक्राउ परेका एमाले नेता रावत यस्ता बिभिन्न घटनामा मुछिँदै आएका बिबादित ब्यक्ति हुन् ।
बिभिन्न घटनामा मुछिँदै आएका रावत बलात्कार प्रयासको आरोपमा समेत एमालेको नवाँै महाधिवेशन ताका समातिएका थिए । उनले त्यो बेला एमालेकै एक महिला कार्यकर्तालाई बलात्कार गरेको आरोप लागेको थियो । उक्त घटनामा रावतले सफाई पाएका थिए । केहि समय अघि नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना आफन्तको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सक माथि कुटपिट गरेका मानबहादुर त्यो बेला पनि रिहा भएका थिए ।
यसैगरि प्रदेशसभा सदस्य बिमला ओलीलाई अपहरण गरिएको भनिएको घटनामा पनि मानबहादुरको संलग्ना रहेको सांसद बिमलाले बताएकी थिईन् ।
रावतकै योजना मुताबिक सांसद बिमलालाई नेपालगन्ज जाने भन्दै बुटवल पुर्याईएको थियो । बिमलाले त्यो बेला आँफूलाई अपहरण गरिएको र बन्धक बनाएर राखिएको बताएकी थिईन् ।
मानबहादुर सहित जुवा काण्डमा समातिएका आठैजनालाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई तीन महिना सम्मको कैद वा तीस हजार जरिवाना र दोस्रो पटकलाई एक बर्ष कैद ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
