युवराजको ‘मुड चेन्ज’

युवराजको ‘मुड चेन्ज’


  • 12.7K
    SHARES
    • कार्तिक १३, २०७८ शनिबार
    • ५ बर्षs अघि
    • 19.5K Views

    युवराजको ‘मुड चेन्ज’

    दाङ,कात्तिक १३ । 
    एमालेको नबौँ महाधिबेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि युवराज ज्ञवालीको राजनीतिक ‘कद’ एमाले भित्रको निर्णायक शक्तिका रुपमा उँचो बन्यो । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसंगको ‘सौहार्द्रता’ माधबकुमार नेपाल समुहका ज्ञवालीको बन्न सकेन । फलतः शंकर पोख्रेललाई ‘काखी’ च्यापेर एमालेको ‘स्टेरिङ’ मा बसेका ओलीका सामु ज्ञवाली जहिल्यै ‘अर्को कित्ता’ का ‘प्यासेन्जर’ मात्रै बने । त्यहि त, शंकर पोख्रेलले  लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा पनि ओली निवासको वरीपरी चक्कर लगाउन छोडेनन् । 
    पार्टी भित्र दोस्रो बरियतामा रहेर पनि ‘गुमनाम’ जस्तै बनेका ज्ञवालीको राजनीतिक ‘ओज’ माओबादीसंगको एकताले झनै ह्वात्तै खस्काईदियो । उनि माओबादी र एमाले बिचको एकताबाट जन्मीएको नेकपामा त भुमिका बिहिनताकै अवस्थामा पुगे, एमालेमा रहँदाको उनको उपाध्यक्ष पदनै गुम्यो ।
    नेकपाको कालखण्ड भर राजनीतिक हैसियत बिहिनताकै अवस्थामा पुगेका ज्ञवालीका लागि सर्वोच्चको ‘नेकपा खारेजी’ को फैसला भने राजनीतिक रुपमा ‘बौरिने’ अवसर बनिदियो । नेकपा भंग पछि पुनः उहि स्थानमा फर्किएको एमालेमा युवराज पनि उहि स्थानमै फर्किए उपाध्यक्षको हैसियतमा ।
    तर एमालेमा देखिएको बिचलनले युवराजलाई पार्टी भित्रको दोस्रो बरियताको ‘ओजनदार’ भुमिकामा रहन दिएन । उनि त्यो बेला अध्यक्ष केपी शर्मा ओली बिरोधी ‘राप’ बाल्न ‘ओली प्रबृत्ति’ का ‘खराब राँका’ हरु संकलन गर्नमै ब्यस्त बने । आफ्नो समुहका नेता माधब कुमार नेपालसंगको ओली टकरावको बिचमा रहेर मध्यमार्गी बाटो खोज्न प्रयास नगरेका भने हैनन् ज्ञवालीले । 
    तर ओली ‘हठ’ ले आजितै बनाईसकेको भन्दै ज्ञवाली भन्थे ‘उहाँ (ओली) सुध्रिने छाँटै छैन, एमाले भित्रबाटै अर्को शक्तिको उदय नहुने सम्भावना रहेन ।’
    नभन्दै युवराजहरुकै उक्साहट अनि ओली प्रति रुष्ट ‘माधब ईख’ ले नयाँ दल खोल्ने बाटो कोर्यो । तर युवराजहरु भने माधब नेपालसंगको लामो राजनीतिक सहयात्राको बाटोबाट ‘स्टेरिङ’ मोड्ने मुडमा पुगे । पार्टी एकताका लागि बनेको १० बुँदे सहमती उनिहरुका लागि ‘केपी समिप’ बन्ने बलियो ‘फेरो’ बनिदियो । 
    सहमतीका १० बुँदाहरु बोकेर ‘रुजु’ गर्न बालकोट पुगेका युवराजहरुले आफ्नै समुहका नेता माधबकुमार नेपाल र उनले गठन गरेको नयाँ दल नेकपा एकीकृत समाजबादी पार्टीलाई प्रतिष्पर्धी नै बनाईदिए ।  
    तर सहमतीका बुँदा रुजु गर्न आनाकानी गरिरहेका ओलीले १० बुँदेको औचित्यनै नरहेको घोषणा गरिदिएपछि १० बुँदेको फेरो समातेर नेपाललाई छोडेका भिम रावल र घनश्याम भुषाल बालकोट घोषणा देखि सन्तुष्ट छैनन् । यहि सहमती कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक समेत रहेका रावलले त संयोजक पदबाटै राजीनामा दिइसकेपनि । 
    तर रावलसंगै १० बुँदेको फेरो समातेर बालकोट पुगेका ज्ञवाली भने यो मुद्धामा मौन छन् । रावलले संयोजक पदबाटै राजीनामा दिईसक्दा सम्म पनि ज्ञवाली भने चुँईक्क सम्म गरेका छैनन्  । ‘तेस्रो आँखा’ले धेरै दिन सम्म कुराकानीका लागि गरेको प्रयास शनिबार सफल भएपछिको एउटा तथ्यले के देखायो भने १० बुँदे प्रति ज्ञवालीको ‘मुड चेन्ज’ भैसकेको रहेछ ।
    कति सम्म भने अध्यक्ष ओलीले १० बुँदेको अब अर्थ नरहेको भन्दै यो रटान नलगाउन एमालेको बैठकमै बोले । 
    उनले भनेका थिए ‘१० बुँदे त माधब नेपाललाई रोक्नका लागि मात्रै गरिएको थियो, अब त्यसको औचित्य छैन ।’ ओलीको भनाई अनुसार १० बुँदे कार्यान्वयन भएकै छैन र हुन्न पनि । अनि रावलले पनि १० बुँदे कार्यान्वयन नभएको भन्दै संयोजक पदबाटै राजीनामा दिनुले पनि एमाले भित्र पाकेको भनिएको १० बुँदेको स्वाद बालकोट छिरेका ‘आगन्तुक’ हरुले पक्कै चाखेका छैनन् । तर ज्ञवाली भने १० बुँदे कार्यान्वयन भएको दाबी गर्छन् । ‘कार्यान्वयन हुँदै नभएको भन्ने हैन,’ उनले तेस्रो आँखासंगको टेलिफोन कुराकानीमा भने ‘तर पुरै कार्यान्वयन भैसकेको भन्न पनि मिल्दैन,सहमती कायाृन्वयन पूर्ण रुपमा हुनु चाहिँ पर्छ ।’ उनका अनुसार यहि १० बुँदे कार्यान्वयनकै प्रतिफल वडा देखि नगर स्तरिय अधिवेशनहरु भएका हुन् । 
    एउटै फेरो पकडेर बालकोट प्रवेश गरेका सहकर्मीहरुले पुनः १० बुँदेको रटान लगाईरहँदा ज्ञवालीको यो दृष्टिकोणले भने उनलाई अध्यक्ष ओली निकटस्थ बनाईदिएको आँकलन सहजै गर्न सकिन्छ । त्यहि त, ज्ञवालीका लागि १० बुँदे कार्यान्वयन भन्दा बढि चिन्तन पार्टीको आसन्न १० औँ महाधिवेशन प्रति छ । अनि त उनले भने ‘१० बुँदे भन्दा पनि अब पार्टीको महाधिबेशन तर्फ हाम्रो ध्यान जानु जरुरी छ ।’ 
    यो महाधिवेशनले पार्टी कार्यदिशाका साथ अघि बढ्ने भएकाले अहिलेको १० बुँदेको खास अर्थ नरहेको भान उनको भनाईले गराईदिन्छ । १० बुँदे महाधिवेशनमा प्रतिनिधित्वका लागि मात्रै कार्यान्वयन हुनु पर्ने भन्दै उनले भने ‘महाधिबेशनमा पनि १० बुँदेले महत्व राख्छ,महाधिवेशनमा प्रतिनिधित्वको बिषयलाई यहि १० बुँदेका आधारमा सम्बोधन गरिनु पर्छ ।’

    images

    १० बुँदे प्रति असहमती जनाईरहेका भिम रावलको असन्तुष्टिलाई ‘ब्यक्तिगत मामिला’ का रुपमा अथ्र्याएका ज्ञवालीको यो अर्थलाई पनि ‘केपी पारस्परिकता’का रुपमा अन्दाज गर्न गाह्रो पर्दैन । ‘उहाँले १० बुँदे कार्यान्वयन नभएको भनेर राजीनामा दिनु भयो,यो उहाँको नीजि मामिलाको कुरा हो,’ ज्ञवाली भन्छन् ‘तर कार्यान्वयनै नभएको भन्ने चाहिँ हुँदै हैन ।’


    तेस्रो आँखा