काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानूनी व्यवस्था सफल नहुने जनाएको बताएका छन्।
बुधवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व दलमा सुनिश्चित नहुने भएकाले सो सम्बन्धी कानून बने पनि सफल नहुने सुझाव आयोगलाई दिएको बताएका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दलसम्बन्धी कानूनमा अपांगता भएका व्यक्तिको पनि प्रतिनिधित्व भन्ने कुरा आयो। राजनीतिक दलहरूको भनाइ के छ भने पार्टीको कमिटीमा ल्याउन त पार्टीको सदस्य हुुनुपर्छ। अब सदस्य नै कोही हुन्छ कि हुँदैन ? अनि तपाईंले कानूनमा लेखिदिएर भोलि हाम्रो बिजोग भयो भने। अब हामीले त कि त अपांगता भएका मानिसहरू सबै हाम्रो पार्टीमा आउनुस् भनेर ल्याउन सक्नुपर्यो। क भन्नेले लैजाला, ’ख’ले लैजान नसक्ला। त्यसकारण सदस्यता नभएका दलको त हुँदैन। कानूनमा लेखेर लैजानुभयो भने यो कानून कामयावी हुँदैन है। कुरा सुनेर मात्रै यस्ता कुरा नल्याउनुस् भनेर हामीलाई भनिन्छ। हामी दलको कानूनमै छलफलमा छौं। वेबसाइटमै राखेर हामी छिटै सुझाव माग्छौं। त्यसलाई व्यवस्थित गरौं। मैले जे देखेँ, त्यही नै कुरा राखेको हुँ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले दलीय प्रतिनिधित्व हुने कुरा सुनिश्चित नभएकाले देशको भौगोलिक विशेषताको आधारमा प्रतिनिधित्व हुने गरी कानूनी व्यवस्था गर्न सकिने कुरा आयोगले प्रस्तावको रूपमा अघि बढाएको बताए। उनले आयोगद्वारा प्रस्तावित राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदामा केही त्रुटि भए राजनीतिक दलहरूसँग छलफल गरेर टुंगो लगाउन निर्वाचन आयोग तयार रहेको पनि बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएको कुनै पनि राजनीतिक दललाई निर्वाचन आयोगले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे। उनले विगतमा विभिन्न शर्तको आधारमा त्यसलाई आयोगले स्विकारेर अघि बढे पनि अब त्यस्ता राजनीतिक दललाई आयोगले दर्ता समेत नगर्ने स्पष्ट पारे।
उनले भने, ‘अब अहिलेको कानूनमा कति छ भने महिला ३३ प्रतिशत छँदै छ। हामीले ३३ प्रतिशतभन्दा कम भएको कुनै पनि दल दर्ता गर्दैनौं, अद्यावधिक पनि गर्दैनौं। यसमा ढुक्क हुनुस्।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानून संसद् र संसदीय समितिको निर्देशन अनुसार परिमार्जन गर्न आफूहरू तयार रहेको पनि बताए।
