काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरे। बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनोटको विषयलाई प्रधानमन्त्रीले नाटकको रूपमा मञ्चन गर्ने काम गरेको समेत बताए।
अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीले खोक्नुभयो–अब विश्वविद्यालयमा दलीय आधारमा हुँदैन मेरिटोक्रेसी लगाइन्छ। गठबन्धनका आसेपासेहरू, वरपर बस्नेहरू, अयोग्य, नचाहिने काम गरेकाहरू ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरूको सर्टिङ गरेर उहाँको मेरिटोक्रेसी पहिला नै देखियो। कोही पोखरामै असफल भएका, कोही टियूमै असफल भएका, कोही कुन विश्वविद्यालयमा असफल भएका मान्छेहरू छन्।’
अध्यक्ष ओलीले गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली काँग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्याए।
