काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको तयारीलाई तीव्रता दिएको छ । फागुन ९ मा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउन लागेको राप्रपा त्यसपछिका आन्दोलनका लागि वैठक, रणनीतिक र व्यवस्थापकीय तयारीमा जुटेको हो ।
महामन्त्री तथा आन्दोलन परिचालन समितिका अध्यक्ष धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको आन्दोलन परिचालन समितिको वैठकले महामन्त्री कुन्ती शाहीलाई परिचालन समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ ।यसैगरी सदस्यमा जनकराज पाठकलगायत रहेका छन् ।
वैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ । जसअनुसार वैठकले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन अनुगमन समिति, निर्देशन समिति सदस्य जयन्त चन्दको संयोजकत्वमा वुद्धिजीवी तथा अन्तर्राष्ट्रिय समन्वय समिति, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा सुभेच्छुक संघसंस्था र संगठन समन्वय समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जनवर्गीय संगठन परिचालन समिति, बागमती प्रदेश प्रमुखको संयोजकत्वमा उपत्यका परिचालन समिति, प्रवक्ता गोपाल दाहालको संयोजकत्वमा सम्पर्क समाज परिचालन समिति, सहमहामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा सामाजिक सञ्जाल समिति, केन्द्रीय सदस्य राजाराम श्रेष्ठको संयोजकत्वमा गुठी समन्वय समिति, केन्द्रीय सदस्य आनन्द अधिकारीको संयोजकत्वमा प्रवास समन्वय समिति लगायतका विभिन्न समितिहरु गठन गरेको प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
सैगरी युवा मोर्चाका अध्यक्ष कैलाश कट्वालको अध्यक्षतामा स्वयमसेवक परिचालन समिति गठन गरिएको छ ।
आन्दोलनका विषयमा राप्रपाले अब चाँडै प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने जनाइएको छ । प्रशिक्षणमा सहभागी नेताहरुलाई ७७ जिल्लामा आन्दोलन सम्बन्धी प्रशिक्षणका लागि खटाइने छ । आगामी फागुन ९ गते मूल आन्दोलन समितिका अध्यक्ष राजेन्द्र लिङदेनको अगुवाईमा राजधानीमा प्रधानमन्त्रीलाई राप्रपाको माग पत्र बुझाइने छ भने देशभरीका सबै जिल्लाहरुमा जिल्ला अध्यक्षको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई माग पत्र दिइने छ ।
आन्दोलन कै तयारीको क्रममा राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको वैठक पनि बिहीबार बसेको छ । संगठनकी अध्यक्ष अंजना शाह रावलको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका जिम्मेवारीहरु पूरा गर्ने सन्दर्भमा छलफल, निर्णय गरेको छ ।
काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा काठमाडौं जिल्लास्तरीय वैठक पनि शुक्रबार बस्दैछ । वैठकमा महामन्त्री तथा अन्दोलन परिचालन समितिका संयोजक राणाको समेत उपस्थिति रहने छ ।
