काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अब आउने सबै निर्वाचनमा कांग्रेस एक्लै भिड्ने बताउँदै आइरहेका छन् । उनको उद्घोष छ ‘अब कांग्रेसले रुखमा बाहेक अन्यत्र कहीकतै भोट हाल्दैन ।’ महामन्त्री गगनकुमार थापाले पनि कांग्रेस आगामी निर्वाचनमा एक्लै भिड्ने बताइसकेका छन् ।
कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले पनि निर्वाचनमा गठबन्धन बनाएर कांग्रेस जान नहुने भनिसकेका छन्। तर कांग्रेसको संस्थापन समूह भने अहिले सम्म गठबन्धनका विषयमा मौन छ। कांग्रेसभित्रको ‘एक धार’ को गठबन्धन विराेधी आवाजले अब निर्वाचनमा सत्ताधारी गठबन्धन कायम हुने वा नहुने भन्नेमा आशंका उब्जाएकाे छ। फलतः स्थानीय तहको निर्वाचन कहिले गर्ने वा कसरी गर्ने ? भन्नेमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पक्कै छ।
गठबन्धनका विषयमा उठेका गठबन्धन विरोधी आवाजलाई सम्बोधन गरेर चुनावमा जानका लागि सभापति देउवालाई सानो चुनौती छैन। तर प्रतिपक्ष दल एमालेले चुनावका पक्षमा उठाइरहेको एकोहोरो आवाज र संवैधानिक व्यवस्थाले पनि कांग्रेसलाई तत्कालै चुनावको पक्षीय धारणा बनाउन नैतिक दबाब परिरहेको छ नै। तर आफ्नो सत्ता टिकाएको गठबन्धनकै दुई ठुला नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत जसपाका अध्यक्ष माधव कुमार नेपालको इच्छा बेगर निर्वाचन मिति तोकेको खण्डमा आफ्नो सरकारको आयु के हुने ? भन्ने अर्को अन्याैलता पनि कांग्रेसका सामु छ ।
दाहाल र नेपाल तत्काल निर्वाचन भए आफ्नो शक्ति झनै खस्कने खतरादेखि कत्ति पनि टाढा छैनन्। फलतः गठबन्धनको आयुलाई बलियो गरि लम्ब्याउने र अनि मात्रै निर्वाचनमा जानु पर्ने मनसायमा उनिहरु पक्कै छन्। यसर्थ गठबन्धनको आयूको निर्णायक शक्ति कांग्रेसभित्र गठबन्धन लम्ब्याउने एकमत बनोस् भन्ने पक्षमा उनीहरु छन्। तर गठबन्धन हुन नहुने भन्दै कांग्रेसभित्रको संस्थापन इतर समूहको आवाज हुने गठबन्धनका विषयमा सहमत हुने सम्भावना कम रहेको कांग्रेस वृत्तमा चर्चा चलिरहेकै पनि छ। अनि त जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले पनि चुनावमा कुनै किसिमको गठबन्धन नबनेर कांग्रेस एक्लै निर्वाचनमा भिड्नुपर्ने आवाज उठाइरहेका छन्। ‘कांग्रेस अहिले कुनै पनि राजनीतिक शक्तिसँग गठबन्धन गरेर जानु हुँदैन,’ दाङ कांग्रेसका पदाधिकारीले भने ‘गठबन्धन गरेर चुनावमा जानु भनेको कांग्रेसका लागि ठूलो घाटा हो ।’
निर्वाचनमा कांग्रेस एक्लै भिड्नु पर्ने अवस्था आए गठबन्धन स्वाभाविकै रुपमा भत्कने छ। दाहाल र नेपाल गठबन्धनबाट अलग्गिएर आ-आफ्नो बलबुताले भ्याएसम्म चुनाव लड्ने सामथ्र्य जुटाउन लागि पर्ने छन्। यो अवस्थामा सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति देउवालाई सत्ताको बागडोर आफ्नो पकडमा जोगाएर राख्न सहज हुने छैन ।
आफ्नो लागि सत्ताको ढोका क्लियर राख्नका लागि पनि देउवाका लागि गठबन्धन जोगाउनु पनि उत्तिकै आवश्यक छ। यसर्थ पनि देउवाले बनेको गठबन्धनलाई कायमै राखेर अघि बढ्ने मानसिकतामा रहेको पनि उनी पक्षीय एक केन्द्रीय नेताले जानकारी दिए। ‘भोली कांग्रेसको नेतृत्वमा सरकार नबन्ने परिस्थती आउने हो कि भन्ने आशंकामा पनि उहाँ हुनुहुन्छ,’ ती नेताले भने ‘यसर्थ पनि सत्ताको नेतृत्वका लागि पनि उहाँले गठबन्धनलाई सहजै तोड्ने निर्णय लिन नसकेको पनि हुनुपर्छ ।’ गठबन्धन भत्किए नेकपा एमाले पुनः पहिलो शक्ति बन्ने खतरा पनि कांग्रेसका सामु बन्न सक्छ। फलतः अहिले बनेकै दलीय गठबन्धनलाई साथमा लिएरै चुनावसम्म जानु पर्ने मनसायमा देउवा रहेको हुन सक्ने नेताहरुको बुझाई छ ।
