दाङ । असल कर्म गर्नेहरुलाई समाजका सदस्यहरुले प्रेरणा, स्नेह र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ गोरखा ग्रुपको आयोजनामा विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई नागरिक अभिनन्दन गरिने भएको छ । ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको युद्धमा घुँडामाथिबाट दुबै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायतामा वि.स. २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए ।
गोरखा ग्रुपका अध्यक्ष तथा हरि बुढामगर नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक मानबहादुर बुढामगरको अध्यक्षता र विभिन्न मिडिया हाउसका पत्रकारहरुको उपस्थितिमा आज दाङको घोराहीस्थित भिंग्रेली भिलेजमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । भेटघाट कार्यक्रममा अध्यक्ष बुढामगरले विश्व कीर्तिमानी हरि बुढामगरलाई सम्मान तथा अभिनन्दनका लागि घोराहीको तुलसीपुर चोकमा यही फागुन १४ गते बिहान ठिक ८ बजे उपस्थित भइदिनका लागि दाङवासी सम्पूर्ण शुभेच्छुक, संघसंस्था तथा नागरिकहरुलाई आव्हान गर्नुभयो ।
वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. ३ मिरुलमा जन्मनु भएका हरि बुढामगर सन् १९९९ जनवरी १ मा ब्रिटिस सेनामा भर्ती हुनुभएको थियो । सन् २०१० अप्रिल १७ तारिखमा अफगानिस्तान युद्धमा दुबै खुट्टाहरु गुमाउनु भएका बुढामगरले जीवनप्रति कहिल्यै निराश हुनुभएन । बरु दृढ इच्छाशक्ति र उच्च मनोबलका साथ सकारात्मक दिशातर्फ आफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गर्न निरन्तर क्रियाशील रहनुभयो । २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको उच्च शिखर सगरमाथा आरोहण गरी नेपालको तर्फबाट विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो ।
नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रम आगामी सोमबार ८ बजे तुलसीपुर चोक (भानुचोक)बाट शुरु गरी नगर परिक्रमा गराउने र सभागृहको हलमा पुगी औपचारिक कार्यक्रमबीच विश्व कीर्तिमानी हरि बुढामगरको अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न गरिने मूल आयोजक समितिका सदस्य सचिव बसन्त पुनमगरले जानकारी दिनुभयो । उक्त पत्रकार भेटघाट तथा कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा अभिनन्दन कार्यक्रमका प्रचारप्रसार समितिका संयोजक दुर्गालाल केसीले गर्नुभएको थियो ।
