भातृ तथा सुभेच्छुक संगठनकाे बिजाेक
नेतृत्वविहीन कांग्रेसको नर्सरी  

नेतृत्वविहीन कांग्रेसको नर्सरी  


  • 16.8K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 25.8K Views

    नेतृत्वविहीन कांग्रेसको नर्सरी  

    काठमाडौं, ६ माघ । आवधिक निर्वाचन जस्तै पार्टीको आवधिक अधिवेशन पनि लोकतन्त्रको सुन्दर पक्ष हो। राजनीतिक दल तथा तीनका भातृ संगठनको अधिवेशनबाट नेतृत्व उत्पादन हुन्छ र तीनै भातृ संगठनका नेताहरु भविष्यमा पार्टी हाक्ने हिम्मत राख्छन। संगठनलाई गतिशिल राख्न नेतृत्व हस्तान्तरणको वैधानिक पक्ष आवधिक अधिवेशन नै हो।

    images

    तर आफूलाई अब्बल लोकतान्त्रिक पार्टी ठान्ने नेपाली कांग्रेसको नर्सरीका रुपमा स्थापीत भातृ तथा सुभेच्छुक संगठनहरु लामो समयदेखि नेतृत्वविहीन हुन पुगेका छन्। विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन झण्डै ६ वर्ष लगाएर सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा सुभेच्छुक संस्थाहरुको अवस्था दयानीय बनाएको छ। प्रत्येक २ बर्षमा हुनुपर्ने नेपाल विद्यार्थी संघको अधिवेशन नभएको ५ वर्ष पुरा गरी ६ वर्षमा लागेको छ।

    २०७३ साल भदौमा अधिवेशन गरेको नेविसंघले त्यसयता बैधानीकरुपमा अधिवेशन गर्न सकेको छैन्। पार्टीको नर्सरीका रुपमा लिइएको नेविसंघमा नेतृत्व नहुँदा देशभरको संगठन धरापमा परेको नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यले बताए। भातृसंगठनका नेताहरु जिम्मेवार नहुँने र पार्टीले पनि संगठनहरुलाई तदर्थवादमै चलाइरहन खोज्दा यो अवस्था आएको उनको टिप्पणी छ।

    पार्टीप्रति धेरै युवाहरुको आकर्षण बढेपनि नेता उत्पादनको नर्सरीनै दयनीय अवस्थामा पुगेकाले पार्टीसंगठनलाई घाटा पुग्ने आचार्यको तर्क छ। आगामी स्थानीयतहको निर्वाचन अघिनै पार्टीले भातृ तथा सुभेच्छुक संस्थालाई अधिवेशन गराएर नयाँ जोसका साथ चुनावी अभियानमा खटाउनुपर्ने आचार्यले सुझाव दिए ।

    म्याद थप्दै चलाउदै

    कांग्रेसमा १३ भ्रातृसंस्था र २८ वटा शुभेच्छुक संस्था छन्। पार्टीले समयावधि सकिएका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाको कार्यकाल २०७८ साउन सम्मका लागि पछिल्लो समय ६ महिना थप गरेको थियो। कांग्रेसले लगातार तेस्रो पटक थपगरेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको समयावधि सकिएको ६ महिना भैसकेको छ। तर, पनि अधिवेशन गर्ने छाँटकाट कसैले देखाएका छैनन्।

    २०७३ का नेविसंघका निर्वाचित अध्यक्ष नैनसिंह महर र वर्तमान अध्यक्ष राजीव ढुंगाना दुबै जना पार्टीको केन्द्रीय सदस्य भइसकेका छन्। यी युवानेताहरु सँगै पार्टीको १४ औं महाधिवेशनबाट अधिकांश विद्यार्थी तरुण नेताहरु पार्टीको केन्द्रीय राजनीतिमा स्थापीत भइसकेका छन्। उसो त नेविसंघका पहिलो सभापति शेरबहादुर देउवा नै पार्टी सभापति छन्। नेपाल तरुण दलका पूर्व अध्यक्ष उदय शम्शेर राणाले २०७३ मंसिर पहिलो सातौं महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण गरे।

    महाधिवेशनले गुटगत भागवण्डामा चार जना पदाधिकारी चयन गरेको तरुण्दलको कार्यसमितिले अहिलेसम्म पूर्णता पाएको छैन्। नेविसंघ पृष्ठभूमिबाट आएका दरुणदल अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट केन्द्रीय सदस्य भैसकेका छन्। नेपाल महिला संघको चारवर्षे कार्यकाल सकिएको डेढ वर्ष भइसकेको छ। महिलासंघकी अध्यक्ष उमा रेग्मी अधिकारी पार्टीको केन्द्रीय सदस्यमा मनोनित भैसकेकी छन्। अहिले महिलासंघमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद नै रिक्त छन्।

    त्यस्तै नेपाल दलित संघको नेतृत्वमा केन्द्रीय सदस्य मीन विश्वकर्मा विगत दश वर्षदेखि छन्। तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएको थियो। त्यसपछि दलित संघले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै आएको छ । नेपाल प्रेस युनियनले नियमित महाधिवेशन नगरेको आठ वर्ष वितिसकेको छ। धेरैजसो जिल्ला अधिवेशनको अर्को कार्यकाल पुरा हुन लागिसक्दासमेत केन्द्रीय महाधिवेशन गराउन नसक्नु पार्टी र संगठनको नेतृत्वको गैर जिम्मेवारीपान भएको आरोप लाग्दै आएको छ।

    यी त केही प्रतिनिधि पात्र मात्र भए। पार्टीको वैचारीक र सांगठनीक शक्तिका रुपमा हेरीएका भ्रातृ संस्थाहरु लामो समयदेखि अस्तित्वको संकटमा छन्। यसले उनीहरुको राजनीतिक पहुँच वृद्धि भएपनि नयाँ पुस्ताका युवाहरु नेतृत्वमा उदाउनका निकै समय ग्याप भैसकेको भन्दै विद्यार्थीका पूर्व नेताहरुले चिन्ता व्यक्त गरे। प्रमुख भ्रातृसंस्था नेतृत्वविहीन छन् भने अधिकांश भातृसंगठनहरु दशौं वर्षसम्म अधिवेशन नगरेर तदर्थवादबाट सञ्चालित छन्। कांग्रेसमा भ्रातृसंस्थाको आवधिक महाधिवेशन गर्न नसक्नुमा पार्टीको मुख्य नेतृत्व जिम्मेवार भएको भातृसंगठनका नेताहरु बताउँछन्।

    आफूअनुकुल हुँदा विधान नचाहिने अनि अरु बेला विधानको कुरा गर्ने प्रवृत्ति कांग्रेसमा बढेको उनीहरुको भनाइ छ। नेविसंघको विधानमा ३२ वर्षीय प्रावधान राखिएपनि त्यसलाई कार्यन्वयन हुन सकेको छैन्। पार्टीका नेताहरुले आठ आठ जना महामन्त्री मनोनित गरेर संगठनलाई आफ्नो मुठ्ठीभित्र राख्न खोजेको भातृ संगठनका नेताहरु बताउँछन।

    लोकतान्त्रिक पार्टीमा गैर लोकतान्त्रीक पद्धति

    नेपाली राजनीतिमा नेपाली कांग्रेस र लोकतन्त्र एकअर्काका पर्याय मानिन्छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि लामो समय संघर्ष गरेको र लोकतान्त्रिक व्यवस्थाकै पक्षपोषण गर्ने कांग्रेसभित्र भने आन्तरीक लोकतन्त्र निकै कमजोर भएको कांग्रेसका नेताहरुनै टिप्पणी गर्दै आएका छन्। भ्रातृ संस्थाको लथालिंग अवस्था देखेर कतिपय नेताहरुले त भ्रातृ संस्थाको औचित्य माथिनै प्रश्न उठाउन थालेका छन्। पार्टीका विभागहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनीहरुको जोड छ।

    कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिह महर पार्टीले भ्रातृ संस्थालाई आफू अनुकूल सञ्चालन गर्न खोज्दा भद्रगोलको अवस्था आएको बताउँछन्। भ्रातृ संस्थाहरुको परिचालन र उनीहरुको नियमन गर्ने पार्टीले विधान कार्यान्वयन नगर्दा यस्तो समस्या देखिएको उनको भनाइ छ। लामो समय सम्म अधिवेशन नगरी भ्रातृ संस्थाहरुलाई चलायमान बनाउन नसक्दा कांग्रेसको १४ औं महाधिवेशनबाट धेरै भातृ संस्थाका नेताहरु  पार्टीको केन्द्रीय राजनीतिमा पुगेका छन्। भ्रातृ एवं शुभेच्छुक संस्थाबाटै राजनीतिक भूमिका खोजेकाहरुले भातृ संगठन छाडेर पार्टी राजनीतिमा लागेका छन् ।

    एकातिर विधानअनुसार भ्रातृ संस्थाको आवधिक महाधिवेशन नहुने, अर्काेतर्फ पार्टी नेताहरुले संगठनमा क्रियाशील भन्दा पनि आफ्नो विश्वास पात्र खोज्ने प्रवृत्तिका कारण भातृ संगठनका नेताहरु पार्टी राजनीतिमा लागेको आम कार्यकर्ताको बुझाइ छ। कांग्रेसको विधानअनुसार माथिल्लो जिम्मेवारीमा जाना साथ तल्लो पद स्वत हट्ने व्यवस्था छ। तर पनि १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएका भातृ संगठनका अध्यक्षहरुले जिम्मेवारी हस्तान्तरण गरेका छैनन् ।

    पार्टी सभापति शेरबहादुर देउवालेसमेत पार्टीको केन्द्रीय सदस्य भैसकेका भातृ संगठनका अध्यक्षहरुलाई ३ महिनासम्म भातृ संगठन नै हेर्न निर्देशन दिएर विधान विपरित काम गरेको एक नेताले बताए। आधिकारीक निर्णय नगरे पनि मौखिक रुपमा सभापतिले पार्टीको केन्द्रीय सदस्य भैसकेका नेताहरुलाई नै भातृ संगठनको जिम्मेवारी थामाइरहेको ती नेताले तेस्रो आँखालाई जानकारी दिए ।

    नेतृत्वविहीन अवस्थामा पाँच संगठन

    पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भ्रातृ संस्था नेतृत्वविहीन छन् । कांग्रेस विधानको दफा ४२ मा भ्रातृ संस्थाका पदाधिकारी एवं सदस्य पार्टीको कुनै पनि तहको कार्य समितिमा निर्वाचित वा मनोनीत भए भ्रातृ संघको पद स्वतः रिक्त हुने व्यवस्था छ । जसअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका सभापतिहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

    नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत र मुस्लिम संघ अध्यक्ष अब्दुल सतार १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। यसैगरी महिला संघ अध्यक्ष उमा रेग्मी र दलित संघ अध्यक्ष मीन विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। महिला संघको अधिकांश पदाधिकारीहरु पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उपाध्यक्ष सरस्वती अर्याल, महासचिव मञ्जु खाँण र कोषाध्यक्ष जानकी सिंह केन्द्रीय सदस्य निर्वाचित भएपछि महिला संघमा उनीहरुको पद रिक्त भएको हो।

    पार्टी केन्द्रीय कार्यसमितिमा निर्वाचित एवं मनोनीतहरूले भ्रातृ संस्थाको जिम्मेवारीबाट अलग भइसकेका छैनन्। उनीहरु विधानको व्यवस्था भन्दा पनि संगठनमा व्यवहारिकता हेर्नुपर्ने बताउँदै आएका छन्।

    तदर्थवादमा अधिकांश संस्था  

    कांग्रेसमा सबैभन्दा बढी समयसम्म अधिवेशन नगर्ने संगठन नेपाल किसान संघमा हो। २०६४ सालमा गठन भएको संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन। १२–१४ वर्ष सम्म अधिवेशन गर्न नसक्ने भातृ संगठनहरुको आवश्यकता र औचित्यमाथि पार्टीकै नेताहरुले प्रश्न उठाउन थालेका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ र नेपाल भूतपूर्व सैनिक संघको पनि हालत उस्तैे छ । सेनानी संघले २०६९ सालपछि अधिवेशन गरेकै छैन भने सैनिक संघले २०७३ साल केन्द्रीय अधिवेशन गरेको थियो।

    त्यस्तै नेपाल आदिवासी जनजाति संघमा २०६४ सालदेखि नै इन्द्रबहादुर गुरुङ अध्यक्ष छन्। त्यस्तै नेपाल तामाङ संघको १२ वर्षदेखि केवलबहादुर तामाङ अध्यक्ष भएर बसेका छन्। राष्ट्रिय लोकतान्त्रिक अपांग संघले १२ वर्षदेखि अधिवेशन नै गरेको छैन। २०६६ सालमा गठन भएको संघले एकपटक पनि अधिवेशन गरेको छैन। १२ औं महाधिवेशनबाट भ्रातृ संस्थाको मान्यता पाएको ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ। नेपाल ठाकुर समाजले २०६७ साल वैशाखदेखि महाधिवेशन गरेको छैन। नेपाल मुस्लिम संघले २०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको थियो भने नेपाल राष्ट्रिय मगर संघको पनि नियमित कार्यकाल सकिइसकेको छ।

    यता शुभेच्छुक संस्थाहरुको हलत पनि भातृ संगठन भन्दा राम्रो छैन्। १८ वटा सुभेच्छुक संस्था भएको कांग्रेसमा पछिल्लो समय संख्या २८ पु¥याइएको छ। पुराना १८ मध्ये अधिकांश शुभेच्छुक संस्थाहरु अधिवेशन नगरेर तदर्थवादबाटै सञ्चालित छन् । नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघलगायत धेरैको नियमित कार्यकाल सकिएको वर्षौं हुँदासम्म पनि अधिवेशन हुन सकेको छैन। सांस्कृतिक संघ पाँच वर्षदेखि चार जना पदाधिकारीमा सीमित छ। प्रेस युनियनको अधिवेशन नभएकै आठ वर्ष भइसकेको छ।

    होला त अधिवेशन ?

    कांग्रेस पार्टीले लगातार तेस्रो पटक थपेको समय सबै भ्रातृ एवं शुभेच्छुक संस्थाको कार्यकाल २०७८ साउन थियो । थपगरिएको समयावधि सकिएको ६ महिना भैसक्दापनि अधिवेशन गर्ने छाँटकाट कसैले देखाएका छैनन्। कांग्रेसकै नेतृत्वमा गठन भएको वर्तमान सरकारले तीनैतहको निर्वाचन गराउने समयसिमा नजिकिदै छ।

    निर्वाचन नजिकिएसँगै कोरोनाको महामारीले उग्र रुप लिइरहेको अवस्थामा यी संगठनहरुको अधिवेशन हुनेमा पुनः संशय पैदा भएको एक नेताले बताए। ‘कि माघ अन्तिमदेखि फाल्गुण दोस्रो हप्तासम्म अधिवेशन गरिसक्नुपर्छ नत्र वैशाखमा हुने स्थानीय तहको निर्वाचनका कारण त्यसपछि भ्रातृ संस्थाका अधिवेशन हुने सम्भावना कम छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘संघीय निर्वाचनपछि मात्रै भातृ संगठनको अधिवेशनहरु हुने अवस्था छ।’ नियमित कार्यतालिकाअनुसार संघीय आम निर्वाचन अर्काे वर्ष मंसिरमा हुनेछ। स्थानीय, प्रदेश र संघीय निर्वाचन सँगै कोरोना महामारीका कारण देखाएर कांग्रेसले भ्रातृ संस्थाका अधिवेशन झनै सार्ने सम्भावना बढेको छ।

    पार्टीको भातृ तथा सुभेच्छुक संगठनहरुको अधिवेशन चाडै गरेर नँया ढंगबाट जाने विषयमा पार्टीका युवा नेताहरुबीच सर(सल्लाहा हुदै गरेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए। उनले तेस्रो आँखासँग भने, ‘भातृ संगठनहरुलाई गुमनाम अवस्थामा पुर्याएर कहाँ पार्टी रहन्छ ? दशौं वर्षसम्म आवधिक अधिवेशन नभएका संगठनहरुलाई अधिवेशनमार्फत नयाँ नेतृत्व प्रदान गरेर चलायमान बनाउने विषयमा छलफल हुदैछ ।’  

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • जीवन शर्मा
    लेखकबाट थप