• ट्रेण्डिङ्ग :
१५ बुँदे मागसहित स्ववियुको ७२ घण्टे अल्टिमेटम

१५ बुँदे मागसहित स्ववियुको ७२ घण्टे अल्टिमेटम


  • 4.0K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    १५ बुँदे मागसहित स्ववियुको ७२ घण्टे अल्टिमेटम

    खजुरा, १७ फागुन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न मागहरु राख्दै ७२ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

    images

    बिहीवार क्याम्पस प्रमुख लालमणी आचार्यसमक्ष विभिन्न १५ बुँदे माग राखी ७२ घण्टे अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाइएको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी दिनुभयो ।

    क्याम्पसमा देखिएका विभिन्न समस्याहरु यथाशिघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको र ७२ घण्टासम्म पनि स्ववियुले राखेका मागहरु पुरा नभएमा थप संघर्षका कार्यक्रमहरु गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना वोर्ड राखिनुपर्ने, सुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाई हुनुपर्ने मागहरु पेश गरिएको छ ।

    त्यसैगरी, चमेना गृहको उचित व्यवस्थापन, ल्यावको व्यवस्थापन, कक्षाकोठामा बत्ती, पङ्खा, प्रोजेक्टर, डस्टबिन तथा ह्वाईट वोर्डको व्यवस्थापन गर्नुपर्ने, आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरु ९बिआईटी, बिसीए, बिएससी सिएसआईटी, बिबिए र बिपिए०का विद्यार्थीहरुसँग सम्बन्धित क्रियाकलापहरु स्ववियुको मातहतमा हुनुपर्ने, सम्पूर्ण सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, कर्मचारी त्रिवि नियमानुसार निर्धारित समय अवधिसम्म आफ्नो कार्यकक्षमा बस्नुपर्ने, सेमेस्टर कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीहरुको परिचयपत्र समान किसिमको गराउनुपर्ने मागहरुसहितको ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

    स्ववियुले राखेका मागहरु सकारात्मक रहेको भन्दै क्याम्पस प्रमुख लालमणी आचार्यले क्याम्पसको समग्र विकासका लागि सबैपक्ष मिलेर हातेमालो गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीले राखेका मागहरुका बारेमा छलफल गर्नका लागि शुक्रवार विहान प्रशासन प्रमुख, विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुखसहितको बैठक बोलाएको जानकारी दिनुभयो । उहाँले कर्मचारी अभावका कारण पनि केही कुराहरुको उचीत व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक सबै कुराहरुको व्यवस्थापन गर्न क्याम्पस प्रशासन लागिरहेको बताउनुभयो ।

    क्याम्पस प्रशासनले आफ्ना मागहरु समयमै सम्बोधन नगरे चरणबद्ध रुपमा थप संघर्षका कार्यक्रमहरु गरिने स्ववियुले जनाएको छ ।


    तेस्रो आँखा