• ट्रेण्डिङ्ग :
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै


  • 4.7K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.2K Views

    फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै
    कैलाली, १७ फागुन/कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ ।
     
    एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन २ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।
     
    केन्द्र निर्माणका लागि रू ५१ करोड ६९ लाख ७४ हजार चार सय ९९ मा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताउनुभयो । उहाँका अनुसार हाल उक्त केन्द्रमा कम्पाउण्ड, फोहर फाल्ने ब्लक, फोहर प्रशोधनयन्त्रलगायत संरचना निर्माण भइरहेका छन् ।
     
    फोहरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहर सङ्कलन गर्नेदेखि लिएर डिस्पोजल गर्ने, प्युरिफाइ गर्ने र कुहिने फोहरबाट मल बनाइने तथा प्राङ्गारिक मल उत्पादन गरिने बताइएको छ । सो परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्नेगरी योजना (डिजाइन) गरिएको सूचना अधिकारी कलौनीको भनाइ छ । केन्द्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । 
     
    एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासमार्फत धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ । 
     
    भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त गर्न नसकेकाले  काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ । रासस


    तेस्रो आँखा