• ट्रेण्डिङ्ग :
उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण


  • 5.0K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.7K Views

    उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

    गलकोट (बागलुङ), १७ फागुन । बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

    images

    नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरूपमा पायक पर्नेगरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

    दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यन्त्रिकीकरण बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई रु ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो । 

    “एउटा मेसिनले ५० घरलाई धान, गहुँ, तोरी र कोदो चुट्न पुग्छ । प्रविधिको प्रयोगले जनशक्ति पनि कम खर्च हुन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “लागत घटेपछि किसानलाई नाफा बढ्छ ।” गाउँमा युवा पलायनले जनशक्ति नहुँदा धान, गहुँ, कोदो स्याहार्न समस्या हुने भएपछि अनुदानमा मेसिन उपलब्ध गराइएको उहाँको भनाइ छ । 

    अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताउनुभयो । “दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा धेरै खर्च लाग्छ, थ्रेसर मेसिनले एकै घण्टामा सक्ने काम दिनभर गर्न गाह्रो हुन्छ, यसले समय र खर्च दुवै बचाएका छ”, विकले भन्नुभयो । पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।


    तेस्रो आँखा