काठमाडौ, माघ । पछिल्लो समय मन्त्री तथा नेताहरुमा पपुलर हुने होडबाजी चलेको छ । मन्त्रीहरु काम गरेर चर्चा बटुल्ने भन्दा विभिन्न अभिव्यक्ति दिएर चर्चामा आउन चाहान्छन् । ती मध्ये एक हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव ।
मन्त्री यादवले मधेश आन्दोलन दिवसको अवसरमा रौतहटको गौरमा माघ ५ गते बुधबार आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्याइदिने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन ।
सामाजिक सद्भाव भड्काउने र हिंसालाई प्रश्रय दिनेगरी आएको उनको अभिव्यक्तिको चौतफी आलोचना भएको छ । उनको विरोधमा सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरु सार्वजनिक रुपमा उत्रिएका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले खुलेआम रुपमा यसरी हिंसा भडकाउने अभिव्यक्ति दिनु हिंसालाई प्रश्रय दिएकाे भन्दै उनको पदच्यूतको माग गरेका छन् ।
कार्यक्रममा उनले मैथिली भाषामा, 'राइसमिल अझै जीवित छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत गर्छौं।' भनेर बोलेकी थिइन् ।
मन्त्री यादवले पटक पटक राइस मिलको घटना दोहोर्याउने धम्की दिएपछि उनले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने आम धारणा बनेको छ । उनले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेशमा लाठी प्रदर्शन नगर्नसमेत चेनावनी दिएकी थिइन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकी यादवले उल्लेख गरेको राइस मिलमा ७ चैत २०६३ मा तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो। २७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको थियो ।
मन्त्री यादवकै तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा माओवादी कार्यकर्ताको हत्या गरेका थिए ।
मन्त्री यादवको चौतर्फी विरोध हुँदै गर्दा नागरिक अगुवा, विभिन्न राजनीतिक दल तथा नेताहरुले उनको राजीनामा माग गरिरहेका छन् । भने, कतिपयले उनकाे पदच्युतकाे मागसमेत गरेका छन्।
तर, सरकार भने टममस छैन । सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । मन्त्री यादवकै दल जनता समाजवादी पार्टी पनि बेखबर जस्तै छ । नेपाली कांग्रेसका नेताहरुले मन्त्री यादवलाई बर्खास्त गर्नु पर्ने बताए पनि त्यही पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा बोलेका छैनन् । देउवाले मुख नखोल्नुलाई कतिपयले गठबन्धको जुइनोसँग जोडेका छन् ।
यसै विषयलाई लिएर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा यादवको पुत्ला दहन सँगै प्रदर्शन समेत गरेको छ । उनको सर्वत्र विरोध भैरहदा सरकार मौन रहेको भन्दै सरकारकै आलोचना हुन थालेको छ ।
