अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन फिलिपिन्ससहित छोटो एसिया भ्रमणका क्रममा पहिलो विश्राममा दक्षिण कोरिया पुग्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा सोमबार सुरु हुने लोकतन्त्रका लागि तेस्रो शिखर सम्मेलनअघि आइतबार दिउँसो ब्लिङ्केन दक्षिण कोरिया पुग्नुभएको हो । सोलले यो साता सम्मेलनको आयोजना गर्दैछ ।
सोल पुग्नुअघि विदेशमन्त्री ब्लिङ्केन बहराइनमा केहीबेर रोकिनुभयो । त्यहाँ उहाँले गाजामा युद्धविराम हासिल गर्ने प्रयासबारे राजा हमद बिन इसा अल–खलिफासँग कुराकानी गर्नुभयो ।
सोमबारदेखि बुधबारसम्म चल्ने शिखर सम्मेलनमा सरकारी अधिकारी, गैरसरकारी सङ्गठनहरू र नागरिक समाजका सदस्यहरू भेला हुनेछन् ।
सोल वासिङ्टनको प्रमुख क्षेत्रीय सहयोगीमध्येको एक हो । अमेरिकाले आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध सुरक्षामा सहयोग गर्नका लागि दक्षिण कोरियामा करिब २७ हजार अमेरिकी सैनिकलाई तैनाथ गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँगको सम्बन्धलाई बढावा दिनुभएको छ र प्योङयाङको धम्कीहरूविरुद्ध अझ राम्रो सुरक्षाका लागि पूर्वऔपनिवेशिक शक्ति जापानसँग ऐतिहासिक शत्रुतालाई समाप्त गर्न माग गर्नुभएको छ ।
ब्लिङ्केनले दक्षिण कोरियाली विदेशमन्त्री चो ताए–युलसँग भेटवार्ता गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । वासिङ्टन र सोलले उत्तर कोरियाविरुद्ध आफ्नो कथित ‘विस्तारित प्रतिरोध’ मा सुधारको खोजी गरिरहेकाले भेटमा द्विपक्षीय गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा चर्चा हुने बताइएको छ ।
लोकतन्त्र शिखर सम्मेलनले छनोट गर्ने निमन्त्रणा सूचीका कारण केही आलोचनालाई आकर्षित गरेको छ । निमन्त्रणा सूचीमा थाइल्यान्ड र टर्कीएजस्ता स्वयंलाई लोकतान्त्रिक मान्ने मुलुकलाई समावेश गरिएको छैन ।
विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार सोलपछि ब्लिङ्केन मनिलाका लागि प्रस्थान गर्नुहुनेछ । ‘भ्रमणले फिलिपिन्स सहयोगीप्रति हाम्रो अटल प्रतिबद्धता’ पुष्टि हुने उहाँले बताउनुभयो ।
