काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथली स्थित नार्भिक अस्पताल भर्ना भएका छन्।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नेता महराको नाम जोडिए पछि सुन प्रकरणमा अनुसन्धानका लागि उनि आज पक्राउ परेका थिए । स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न आदेश दिए पछि सोही आधारमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो। महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।
नेता महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। सुन तस्करी गर्ने चिनिया नागरिकसँग चिनजान र कुराकानी भएको स्वीकार गरे पनि महराले तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दाबी गर्दै आएका छन्।
