काठमाडाैं,११ माघ । ऐन संशोधनमा गरेर स्थानीय तह निर्वाचन सार्ने तयारी भैरहदा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र फरक धार देखिएको छ । संस्थापन इतर समूहले सोमबार साँझ भर्चुअल बैठक गरी स्थानीय चुनाव कुनै पनि बहानामा वैशाखभन्दा पर सार्न नहुने निष्कर्ष निकालेको हो । चुनावमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने समेत बैठकले धारणा बनाएको छ ।
संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले आवधिक निर्वाचनमाथि बन्देज गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने साझा धारणा बनेको बताए । ‘सत्ता गठबन्धनभित्र विभिन्न बहानामा स्थानीय निर्वाचनलाई पर सार्ने कसरत भइरहेको छ । उनले भने, “त्यसो गरियो भने संविधान नै धरापमा पर्ने खतरा रहेकाले हामीले पार्टी नेतृत्वलाई आफ्नो धारणा सुनाउने निर्णय गरेका छौं ।” कोइराला समूहको बैठकले महत्त्वपूर्ण मुद्दामा पार्टीभित्र औपचारिक छलफल हुनुपर्नेमा पनि जोड दिएको छ ।

कांग्रेसभित्र एक थरी नेताले स्थानीय निर्वाचन तत्काल (वैशाखमा) गर्दा सत्ता गठबन्धन भत्किने र त्यसले संसदीय निर्वाचनमा असर पुग्ने बताउने गरेका छन् । यस्तो मत राख्ने नेताहरू गठबन्धनलाई संसदीय निर्वाचनसम्मै कायम गर्नुपर्ने पक्षमा छन् ।सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदीय निर्वाचनपछि मात्र स्थानीय निर्वाचन गराउन चाहेका छन् । संसद्को निर्वाचन वैशाखमा गर्नुपर्ने प्रस्ताव गठबन्धनको बैठकमा राखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चौतर्फी आलोचनापछि पछि हटेका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि संसदीय निर्वाचनसम्म समीकरण हुनुपर्छ भन्नेमा छन् । कोइराला समूहको बैठकले भने वर्तमान सत्ता सञ्चालनका लागि मात्र गठबन्धन गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले बताए । बैठकमा कोइरालाका साथै महामन्त्री गगन थापा र नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, मीनेन्द्र रिजाललगायतको सहभागीता थियो ।
पछिल्लो समय सभापति देउवाले निर्वाचनबारे उच्चस्तरीय राजनीतिक समन्वय समिति, सत्ता साझेदार दलका नेता र कानुन व्यवसायीसँग छलफल चलाउँदै आएका छन् । देउवाले चलाएको छलफलका विषयमा कोइराला समूहलाइ कुनै जानकारी समेत नगराइएको उक्त समुहको दावी छ ।
भर्चुअल बैठकमा नेताहरूले सभापति देउवा पार्टीको औपचारिक निकायमा छलफल गरेर साझा धारणा बनाउनुको साटो पेलेर अघि बढिरहेका बताएका थिए । उनीहरूले सत्तारूढ दलबीच बनेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको वैधतामाथि समेत प्रश्न उठाएका छन् । स्थानीय निर्वाचन र उच्चस्तरीय राजनीतिक समन्वय समितिको विषयमा उठेका प्रश्नमा पार्टी सभापति देउवाले के गर्लान भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । देउवा निकटका नेताहरूले बैशाखमा स्थानीय चुनाव नहुने बताइसकेका छन् ।
