बाँके १३ चैत/आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चैत १२ गते विकले आफ्नी श्रीमती २१ वर्षीया सुशीला सुनारको ढाडमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएको र उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएका थिए ।
धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
