• ट्रेण्डिङ्ग :
चैते धानमा किसानको आकर्षण बढ्दै

चैते धानमा किसानको आकर्षण बढ्दै


  • 3.2K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    चैते धानमा किसानको आकर्षण बढ्दै
    कैलाली, १५ चैत/कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आउनुभएको छ । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो । 
     
    राम्रो उत्पादन दिने र  वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताउनुभयो । “उत्पादन बर्खे धानकै जस्तो हुन्छ । बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ”, उहाँले भन्नुभयो, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन । त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए ।”
     
    भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ । उहाँले हिउँदे खेतीमा तोरी लगाउनुहुन्छ भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्नुहुन्छ । “खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ । पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो”,  रुपलालले भन्नुभयो, “चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन । उजाड देखिने उर्वर फाँट वैशाख/जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन् ।”
     
    भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आउनुभएको छ । 
     
    “बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन् । लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ”, किसनले भन्नुभयो, “बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ ।” उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उहाँको बुझाइ छ ।
     
    नगरपालिकाको वडा नं ८ मा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ । नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिनुभयो । 
     
    “पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन । किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन् । त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ ।”
     
    नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ । गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन् ।


    तेस्रो आँखा