काठमाडौं, १३ माघ । प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार हेमराज राई पराजित बने। उनी देशैभर भएको निर्वाचनमा गठबन्धनका तर्फबाट पराजय व्यहोर्ने एक्ला उम्मेदवार बने। जनता समाजवादी पार्टीका उनि प्रदेश १ मा पराजित बन्दै गर्दा यही प्रदेशमा गठबन्धनका अरु दुई जनाले भने बाजी मारे।
तथापी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका गोपाल बस्नेतको जीत पनि सहज बन्न सकेन। ईतर समुहका उम्मेदवारसँगको मतभार बराबर भएपछि गोलाप्रथा नै गर्नु पर्यो। धन्न, गोला प्रथा बस्नेतका पक्षमा खस्यो र उनको राष्ट्रियसभा सदस्य बन्ने भाग्य निर्धारण गरिदियो।
तर यही सत्तापक्षीय गठबन्धनकैतर्फबाट महिला कोटाकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी जयन्ती राईका लागि भने सहज जित बनिदियो। उनले गठबन्धनको कुल मत भन्दा पनि बढी मत प्राप्त गरिन्। यसर्थ उनका लागि जित सहज बनिदियो।
प्रदेश नम्बर १ मा तीन उम्मेदवारको यो नतिजाले सत्तारुढ गठबन्धनभित्रको ‘प्रतिवद्धता’ माथि निकै ठूलो प्रश्न उब्जाईदिएको छ। यति मात्रै हैन, प्रदेश नम्बर १ मा देखिएको राष्ट्रियसभाको निर्वाचनले गठबन्धन किन र के लागि भन्ने प्रश्न पनि सहजै उठाईदिएको छ। अनि गठबन्धनको आयूमाथि पनि प्रश्न चिन्ह खडा भएको छ।
उक्त निर्वाचनमा पराजय व्यहोेरेका हेमराज राईका अनुसार गठबन्धनका मतदाताहरु गठबन्धनको मर्म भन्दा बाहिर गईदिए । गठबन्धनको वर्चश्व कायम राख्ने लक्ष भन्दा पनि उनीहरु व्यक्ति केन्द्रित बने । ‘गठबन्धनले प्रदेश नम्बर १ मा सहजै जित्ने अवस्था हो, मतलाई हेर्ने हो भने,’ उनले तेस्रो आँखासंग भने ‘तर गठबन्धनका मतदाताहरुबाट त्यो प्रतिवद्धता भएन, र मैले हार्नु पर्यो ।’ यो प्रदेशमा गठबन्धनका प्रदेशसभा सदस्य संख्या ५० थियो। तर प्रदेशसभा सदस्य तर्फ राईले ४९ मत मात्रै पाए । यसैगरि १ सय २६ स्थानीय तह तर्फको मत रहेको गठबन्धनबाट राईले जम्मा १ सय १३ मत मात्रै पाए । ‘तर गठबन्धनका सबै मतदाता साथीहरुले ईमानदारीता देखाएको भए त म निर्वाचित भैसकेको हुन्थेँ,’ उनले भने ‘त्यो ईमानदारीता हामी भित्र देखिएन , अनि हार्न पुगेँ ।’
त्यसो त, बराबरी मतभार भएपछि गोलाप्रथाबाट जीत हात पारेका कांग्रेसका गोपाल बस्नेतको मतभारले पनि गठबन्धन भित्रको कमजोर प्रतिवद्धतालाई छर्लंगै पार्छ। एमालेका गुरु बराल र कांग्रेसका बस्नेतको मतभार बराबर भएपछि गोला प्रथा गरिएको थियो। गठबन्धनको सहजै जीत रहेको प्रदेश १ मा कांग्रेसका बस्नेतलाई पनि गठबन्धनको पुरै मत नजानुले पनि गठबन्धन भित्रको विश्वास स्वाभाविकै रुपमा कमजोर बनाईदिएको छ।
यसर्थ राष्ट्रियसभा निर्वाचनको यो परिणाम गठबन्धन भित्र ठूलो बहसको बिषय बन्ने देखिन्छ। त्यसोत, गठबन्धन कति लामो समय सम्म कायम रहने नहरने भन्ने नेपाली राजनीतिमा अहिले चर्को बहसको बिषय बनिरहेकै छ। यहीबीचमा देखिएको प्रदेश १ को राष्ट्रियसभा निर्वाचनको परिणामले गठबन्धनको आयूको बहसलाई थप चर्काइदिने निश्चितप्रायः नै छ। तथापी पराजय ब्यहोरेका उम्मेदवार राईले भने यसलाई गठबन्धनको आन्तरिक बहसको विषय बनाउनु पर्ने भएपनि गठबन्धनलाई सिध्याउने निर्णयमै पुग्न नहुने बताउँछन्। ‘मेरो पराजयले गठबन्धन भित्र विश्वासको खडेरी रहेको प्रमाणित गर्छ नै,’ उनले भने ‘यसर्थ यसलाई गठबन्धन भित्रका दलहरुले गम्भिर समिक्षा गर्न जरुरी छ,तर यही एउटा हारका कारण गठबन्धन भत्काउनु राम्रो हैन, त्यसो हुनुहुँदैन ।’
