ओलीले कोरोना नटेर्‍या कि सरकार ?

ओलीले कोरोना नटेर्‍या कि सरकार ?


  • 6.1K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    ओलीले कोरोना नटेर्‍या कि सरकार ?

    काठमाडौं, १४ माघ । कोरोना संक्रमित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक सार्वजनिक कार्यक्रममा उपस्थित भए। कोरोना संक्रमण भएपछि आइसोलेसनमा बस्नुपर्ने सरकारी ‘प्रोटोकल’ लाई उनले पालना गरेनन्। फलतः उनी विरुद्धका केही आलोचनाका आवाजहरु सुनिए।

    images

    एमाले अध्यक्ष ओलीमा आफ्नो ‘हठ’ छ। आफूलाई नेपालको ‘सर्वेसर्वा’ नेताका रुपमा परिचित गराउन कहिल्यै नथाक्ने ओली कोरोना संक्रमणपछि पनि सार्वजनिक भीडमा सहभागी हुनुलाई उनी र उनी समर्थितहरुले ‘बहादुरी’ को अर्को बलियो उदाहरणका रुपमा पेस गर्लान्। तर सरकारले जारी गरेको कोरोना विरुद्धको प्रोटोकल पालना नगर्नुलाई कती हद सम्मको बहादुरी मान्ने यो आमरुपमा उठ्ने प्रश्न हो। यती मात्रै हैन, कोरोना संक्रमित जो कोहीलाई सार्वजनिक स्थानमा जान बन्देज नगरिनु, प्रोटोकल जारी गर्ने सरकारमाथि अझ गम्भिर प्रश्न हो।

    सरकारले आमनागरिकलाई खोप कार्डविना सार्वजनिक स्थलमा जान बन्देज गरि दिएको छ। खोप नलगाएका कैयन नागरिकहरु अहिले सरकारी सेवाबाट वञ्चित हुनु परिरहेको छ। सरकारी कार्यालयमा अनिवार्य खोप कार्डको व्यवस्था हुनुपर्ने सरकारी निर्णयले आम नागरिककाे सास्तीलाई अवमूल्यन गरिरहेको सरकारले कोरोना संक्रमित ओलीलाई सार्वजनिक कार्यक्रममै पुगेर ठूलो भीडमा भाषण गर्ने छुट किन दियो ? आम सर्वसाधारणहरुका कारण मात्रै कोरोना सर्छ भन्ने सन्देश दिन खोजेको भान पक्कै पनि यो घटनाले दिलाइदिएको छ।

    त्यसो त, आफू प्रधानमन्त्री भएका बेला ओलीले नै कोरोना विरुद्धको प्रोटोकल निर्माण गरेका थिए । सार्वजनिक स्थलमा भेला हुन रोक लगाएतका प्रोटोकल निर्माण गरेको ओली नेतृत्वकै सरकारले यी प्रोटोकल पालना नगर्ने सर्वसाधारणहरुलाई कारवाही गरेकै दृष्टान्तहरु नेपालभर कैयन छन् पनि। तर उनै ओलीले उस्तै प्रोटोकल पालना नगरेर आफ्नो नेतृत्व सरकारले निर्माण गरेको प्रोटोकललाई गलत सावित गर्न खोेजेका हुन् त ? यती मात्रै हैन, कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने विश्वव्यापी मान्यतालाई किन नमानेका होलान् ओलीले? आफू संक्रमित ओलीले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रममा सहभागीहरुलाई असुरक्षित बनाइरहेको छु भन्ने सम्मको हेक्का नराख्नु गलत कदम हो नै। सर्वसाधारणहरुलाई कोरोनाको संक्रमणको जोखिममा धकेल्ने गरि कार्यक्रममा सहभागी हुनुलाई उनको बहादुरी मान्ने कि आम नागरिकको जनस्वास्थ्य माथिको खेलवाड?

    आफ्नो सत्ता गुमेपछि वर्तमान सरकारको उछितो काट्नमै व्यस्त ओलीले वर्तमान सरकार र सरकारका ‘हरेक मान्छे’ लाई आफू भन्दा सानै सम्झन्छन्। किनकी उनी अनि उनका समर्थकहरुले उनलाई दिने गरेको ‘राजनेता’ को उपमाले उनलाई अरु भन्दा सानो बन्न वा कमजोर बन्न छुट दिइरहेको छैन। फलतः सरकार र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको खिलाफमा ओली सहजै उत्रिए। यसर्थ पनि उनले फेरी आफूलाई झन ठूलो राजनेताको परिचय दिने प्रयासका रुपमा उनी अनि उनका समर्थकहरुले बुझेका पक्कै पनि छन्। आम नागरिकलाई स्वास्थ्य जोखिममा पारेर बहादुरी देखाउन खोजेका ओलीले कोरोनालाई टेरेनन् कि सरकारलाई ? कोरोना भैसकेपछि सार्वजनिक कार्यक्रममा उनले देखाएको उपस्थितीले यी दुई प्रश्न स्वाभाविकै रुपमा उब्जाएको छ । 
      

       

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # काेराेना भाइरस

  • तेस्रो आँखा