• ट्रेण्डिङ्ग :
माओवादी पदाधिकारी चयनमा ढिलाइ : कोरोना बाध्यता की बहाना ?

माओवादी पदाधिकारी चयनमा ढिलाइ : कोरोना बाध्यता की बहाना ?


  • 9.8K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    माओवादी पदाधिकारी चयनमा ढिलाइ : कोरोना बाध्यता की बहाना ?

    काठमाडौं, १४ माघ । नेकपा माओवादीको आठौँ महाधिवेशनले दुई सय ३६ केन्द्रीय सदस्य चयन गर्‍यो। केन्द्रीय सदस्यहरुको बैठकबाटै पार्टीको पदाधिकारी चयन गर्ने पार्टी विधान बमोजिम अध्यक्षमा पुनः पुष्पकमल दाहाल सर्वसम्मत चुनिए । तर पार्टीका अन्य पदाधिकारी भने उक्त बैठकले टुंगो लगाउन सकेन।

    images

    अध्यक्षमा दाहालको ‘रजगज’ कायमै रहन सके पनि पदाधिकारीका अन्य पदहरुमा भने दोस्रो तहका नेताहरुबीच ‘शक्ति’ संघर्ष सुरु भयो। मुलतः माओवादीको शक्तिशाली मानिएको महासचिव पदमा दोस्रो तहका नेताहरुले देखाएको इच्छाका सामु अध्यक्ष दाहाल अनिर्णित बने। आफ्नो उत्तराधिकारी चयन हुने उक्त पदमा कसलाई आसिन बनाउने ‘सकस’ मा रहेका दाहालले अन्य पदाधिकारी चयनको विषयलाई तत्कालका लागि थाति राखिदिए।

    त्यसो त, उनका विश्वास पात्र मानिने नेता वर्षमान पुन उपचारका क्रममा चीनमा थिए। महासचिवका बलिया दाबेदार पुनकै आग्रहका कारण पदाधिकारी चयनको विषयलाई दाहालले थाति राखेको चर्चा  पनि चलेको थियो। तथापी पुन बाहेकका अन्य नेताहरुको दवाब थेग्न दाहाललाई सकस बन्ने नै थियो।

    तर माओवादी महाधिवेशन लगत्तै नेपालमा बढेको तेस्रो चरणको कोरोना संक्रमण दाहालका लागि पदाधिकारी चयनलाई बिलम्ब गर्ने गतिलो अवसर बनिदियो। भलै दाहाल निकट स्रोतले भने पदाधिकारी चयनमा भैरहेको ढिलाइको एक मात्रै कारण कोरोना संक्रमणनै रहेको बताउँछ। ‘पदाधिकारी चयनमा भएको ढिलाइको कारण कोरोना संक्रमणको उच्च दर नै हो,’ दाहाल निकट स्रोतले भन्यो ‘यो बाहेक अरु कारण कुनै छैन।’ महाधिवेशन लगत्तै अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुलाई कोरोना संक्रमण भएको थियो।

    उक्त स्रोतकाअनुसार कोरोना संक्रमणको जगजगी नबढेको भए अहिलेसम्म सहमतिमै सबै पदाधिकारी चयन भैसकेका हुन्थे । ‘कोरोना संक्रमणको चाप नबढेको भए त अहिलेसम्म पदाधिकारी चयन भैसकेका हुन्थे,’ स्रोतले भन्यो ‘सहमतिमै पदाधिकारी चयन गर्न माओवादी भित्र कुनै समस्या छैन।’

    तर, दाहाललाई भने कसलाई महासचिव चयन गर्ने भन्ने कठिनाइले पिरोलिरहेकै थियो। महासचिवका प्रमुख दाबेदार मानिएका वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुषाल हुन्। यी मध्ये कसलाई चयन गर्ने भन्ने सकसमा दाहाल छन्। स्वाभाविकै रुपमा नेता पुन महासचिवका लागि आफूलाई सबै भन्दा काबिल दाबी गर्दै आएका छन्। दाहालकै विश्वासपात्र उनी कैयन पटक दाहाल विश्वासकै कारण मन्त्री बनिसकेका छन्। त्यसो त, शर्मा र भुषाल पनि दाहालको विश्वास पात्रको सूचीमा पछाडि परेका नेता भने हैनन्। उनीहरुलाई अहिले दाहालले वर्तमान सरकारको मन्त्री बनाएका छन्। कोरोना महामारीको सन्त्रासको खतरा रहे पनि दाहालले यही सकसका कारण पनि पदाधिकारी चयनको पहलकदमीलाई थाती राख्न गतिलो बहाना बनेको माओवादी स्रोत बताउँछ। केहिले नेता पुन नेपालमा नभएका कारण पनि पदाधिकारी चयनको काम रोकिएको वताउँछन्। नेता पुनको सहभागिताविना पदाधिकारी चयन गर्न नहुने भन्दै दाहाललाई परेको दवाबका कारण पदाधिकारी चयनको विषय पनि तत्कालका लागि सामसुम बनेको उनीहरुको तर्क छ।

    नभन्दै, नेता पुन चिनबाट उपचार गरेर नेपाल फर्किएलगत्तै माओवादीले पदाधिकारी चयनको विषयलाई पनि अगाडि बढाउने निर्णय गरिसकेको छ। माओवादीले पदाधिकारी चयनका लागि आगामी २७ गते केन्द्रीय कमिटिको बैठक बोलाइसकेको छ। नेता पुन केही दिन अघि मात्रै उपचार सकेर नेपाल फर्किएका छन्। उनले आफू महासचिवको काबिल रहेको भन्दै महासचिवमा आफ्नो विकल्प खोज्न हुने सन्देश दाहाललाई दिइसकेका पनि छन् ।

    आगामी २७ गते बस्ने केन्द्रीय समितिले पदाधिकारीको पनि टुंगो लगाउने अध्यक्ष दाहाल निकटस्थ स्रोतको दाबी छ। ‘सबै पदाधिकारी त चयन गर्दै पर्यो नि,’ स्रोतले भन्यो ‘२७ गते सवै पदाधिकारी टुंगिन्छन्।’ उक्त स्रोतका अनुसार पदाधिकारीमा क-कसलाई चयन गर्ने भन्ने होमवर्क सुरुसमेत भैसकेको छ। केन्द्रीय पदाधिकारीसहित पार्टीको स्थायी कमिटी, पोलिटव्यूरोलाईसमेत पूर्णता दिने तयारीमा माओवादी छ। 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # कोरोना भाइरस

  • तेस्रो आँखा