• ट्रेण्डिङ्ग :
सस्तो लोकप्रियतामा रमाउने आलेका ‘अनेक फण्डा’  

सस्तो लोकप्रियतामा रमाउने आलेका ‘अनेक फण्डा’  


  • 9.0K
    SHARES
    • माघ १५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    सस्तो लोकप्रियतामा रमाउने आलेका ‘अनेक फण्डा’  

    काठमाडौं, १५ माघ । नेपाली राजनीतिवृत्तमा नेताहरु विभिन्न फण्डा निकालेर चर्चा बटुल्ने र केही समय भए पनि वाहवाही कमाउने गर्छन् । राम्रो काम गरेर होस् वा नराम्रो, राजनीतिमा चर्चा कमाएका थुप्रै नेताहरु छन्। गोकुल बास्कोटा, योगेश भट्टराई, रेणु यादवदेखि विजय गच्छेदारलगायतका नेताहरु चर्चामा रहे । त्यसो त राम्रै काम गरेर चर्चामा आउने नेताहरु नभएको पनि होइन नेपाली राजनीतिमा त्यस्ता धेरै नेताहरु पनि छन्।

    images

    कहिले बोलेर त कहिले अनेक काम गरेर मन्त्री तथा नेताहरु जनताको नजरमा रहिरहन चाहान्छन् । चर्चित हुने सायद नेताहरुको एउटा रोग नै होला सायदै जसका कारण उनी मिडियामा छाइरहन्छन् । ती मध्येका एक हुन पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले । जो पछिल्लो समय निक्कै चर्चामा छन् । मन्त्री आले बतासका कारण बढी चर्चामा रहे । बतास समूहले नारायणहिटी संग्राहलयमा खोल्न लागेको रेस्टुरेन्ट निर्माणका कार्य रोक्का गरेर उनी चर्चित बनिरहे । त्यस्तै उनले पशुपतिनाथमा सञ्चालित धर्मशालालाई फाइभ स्टारको रेष्टुरेन्ट बनाइएको पाए बन्द गर्ने घोषणा गरेर चर्चित बने ।

    जनताको नजरमा हिरो बन्ने प्रयासमा रहेका मन्त्री आलेको गतिविधिहरु विस्तारै बाहिरीदै छन् । त्यसो त उनी राम्रो काम गरेर भन्दा फन्डा गरेर बढी चर्चामा आउने गरेका छन् । मन्त्री आलेका विवादित खबरहरु धमाधम सार्वजनिक भैरहेका छन् । उनी लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट खोल्न दिनेदेखि क्यासीनोको लाइसेन्स बाड्ने धन्दामा लागेको खुलेको छ ।  

    कसरी विवादित बने आले ?

    गत पुस २० गते लुम्बिनी विकास कोष पुगेका मन्त्री आलेले संसारा वेलनेस कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट खोल्न दिने निर्णय गरे । कोषका अध्यक्षसमेत रहेका आलेको यो निर्णय बाहिरिएसँगै उनको सस्तो लोक प्रियतामाथि प्रश्न खडा भयो । संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको हो । वैद्यले लामो समयदेखि लुम्बिनी विकास कोषभित्र रिसोर्ट खोल्नुपर्ने बताउँदै आएका थिए । मंसिर ११ गते नै लुम्बिनी विकास कोषमा रिसोर्ट खोल्न दिने निर्णय गरे पनि सम्बन्धित निकायले निर्णय सार्वजनिक नगरेको भन्दै विरोध आएको थियो ।  उक्त निर्णय अघिल्ला सरकारहरुले गर्दै आएको कामलाई निरन्तरता दिएको मन्त्री आलेले जवाफ दिएका थिए ।

    सुरज वैद्यको संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको प्रि ग्रिमेज हाउससँग जोडिएको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसँग प्रस्ताव गरेको थियो । वैद्यको उक्त प्रस्तावलाई स्वीकृत गर्दै पर्यटन मन्त्री आलेले सरकारको मापदण्ड अनुसार दिएको दावी गरे । मास्टर प्लानमा भएको तथ्यलाई टेकेर रेस्टुरेन्ट सञ्चालन गर्न दिएको आलेले बताउँदै आएका छन् ।

    लुम्बिनी विकास कोषको घटना सेलाउन नपाउदै उनले क्यासीनोको लाइसेन्स बाडेर फेरि अर्को विवादमा फसेका हुन् । पर्यटनमन्त्री आलेले पछिल्लो समयमा धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गरिरहेका छन् । पर्यटन मन्त्रालय उनले सम्हालेपछि  ५ वटा क्यासिनोलाई लाइसेन्स जारी भैसकेको मन्त्रालय स्रोतको दावी छ । आलेले पर्यटन मन्त्रालय सम्हाल्नु अघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्षमा जारी भएका छ मध्ये पाँच वटा क्यासिनोले प्रेम आले मन्त्री भएपछि नै लाइसेन्स लिएका हुन् । आले गत २२ असोजमा पर्यटनमन्त्री नियुक्त भएका थिए । त्यसयता मन्त्री आलेले गुपचुप रुपमा कागज मिलाएर धमाधम क्यासीनोको लाइसेन्स वितरण भएको भन्दै उनको आलोचना हुन थालेको छ । यसरी सस्तो लोकप्रियता कमाउनमा माहिर आले भित्री रुपमा सेटिङमा काम गर्दै आएको तथ्यहरु बाहिरिदै छन् ।

    के छ क्यासिनो अनुमतिको नियम ?

    क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्व स्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।

    नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    कहाँ कहाँ दिए आलेले अनुमति ?

    १.मन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिए । उक्त क्यासीनो गुण्डानाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेकोे क्यासिनो हो । १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले गुण्डानाइके सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । जुन मुद्दा विशेष अदालतमा अझै विचाराधिन छ ।

    २. गत कात्तिक ९ गते मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

    ३. कात्तिक १२ गते पुनः नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । त्यस्तै २०७८ पुस १४ मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टलाई पनि क्यासिनोको अनुमतिपत्र दिएको देखिन्छ । २०७८ पुस १६ मा नेपालगञ्जको होटल कलपत्रुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले मन्त्रीकै निर्देशनमा लाइसेन्स पाएको बताइएको छ ।

    पछिल्लो समयमा मन्त्री आलेले नेपालगञ्जमा रहेका चार वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । उनले करिब २ महिनाको अवधिमा नेपालगञ्जका चार वटा क्यासिनो चलाउन अनुमतिपत्र दिएका हुन् । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउने मन्त्रालय स्रोतले बताएको छ ।

    मन्त्री आले केपी शर्मा ओलीको मन्त्री मण्डलमा वन मन्त्री हुँदा भाषणकै कारण चर्चित बने । एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘रुखले कार्बनडाअक्साइड दिन्छ, हामी त्यही कार्बनडाअक्साइड लिन्छौ र अक्सीजन फाल्छौं, ‘त्यसैले वनजङ्गल संरक्षण गर्नुपर्छ, रुख रोप्नुपर्छ’ भनेर आले निकै चर्चित बने । यति मात्र होइन आलेले सरकारले उपलब्ध गराएको अक्सीजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गर्न सम्म भ्याए ।

    यीनै गतिविधिका कारण उनी एकाएक राजनीतिमा हटकेक बने । ओली सरकार ढलेपछि मन्त्री बन्नैका लागि ओलीसँग डिभोर्स गरेका आले माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादीमा आएर पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका हुन् । केपी ओलीले संसद विघटन गर्दा ओलीको विश्वास पात्रका रुपमा उभिएर ओलीकै पक्षमा वकालत गर्थे । सस्तो लोकप्रियताका लागि आलेले रच्ने अनेकन फण्डा बाहिरिन थालेपछि उनीप्रतिको जनविश्वास ओरालो यात्रामा छ ।  

     

     


    जीवन शर्मा
    लेखकबाट थप