काठमाडाैं,१६ माघ । जनप्रतिनिधिको कार्यावधि सकिँदै गर्दा स्थानीय तहको निर्वाचन गर्ने नगर्ने संशयकाबीच अलमलिएको सत्ता गठबन्धन अन्ततः आगामी जेठभित्र चुनाव गर्ने मनस्थितिमा पुगेको छ । समयमै स्थानीय चुनाव गर्नुपर्ने पक्षमा चौतर्फी दबाब बढेपछि सरकार साझेदार दलहरु चुनावको विषयमा एकमत देखिएका हुन् ।
शनिबार बसेको सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ मसान्तसम्म गर्न सरकारलाई सुझाव दिएको छ । गठबन्धनमा सहभागी दलको सुझावसँगै समयमै स्थानीय तहको निर्वाचन हुनेमा आशा जागेको छ । स्थानीय तह निर्वाचनको विषयमा सत्तारुढ दलभित्रै एक मत थिएन । नेपाली कांग्रेसले चुनाव गराउन चाहे पनि नेकपा माओवादी र एकीकृत समाजवादी चुनाव धकेल्न चाहान्थे । कांग्रेसभित्रसमेत चुनावका विषयमा दुईधार देखिएको थियो ।
शनिबार बसेको गठबन्धको बैठकले जेठभित्र निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले भने,‘सरकाले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको मिति तोक्ने छ ।’ संविधान र कानुनको रक्षा गर्दै वर्तमान पदाधिकारीको कार्यकाल नसकिदै स्थानीय तहको निर्वाचन गराउनुपर्ने भएकाले चुनावको तयारीका विषयमा पार्टीमा छलफल हुन थालेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
गठबन्धनको निर्णसँगै स्थानीय तहको चुनाव हुनसक्ने आशा पलाएको नेकपा एमााले जनाएको छ । निर्वाचन आयोगले भने जेठ ५ गते नै स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल समाप्त हुने भएकाले वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई यसअघि सिफारीस गरेको छ । एमाले वैशाखमै चुनाव गर्नुपर्ने पक्षमा रहेको उपाध्यक्ष युवाराज ज्ञवालीले तेस्राे आँखालाई बताए । उनले भने,‘हामी संविधान र कानुनअनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छौं तर सत्ताधारी दलहरु चुनावमा डराएको देखिन्छ ।’ स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको पनि चुनाव पनि समयमै गर्नुपर्ने ज्ञावालीले बताए ।
आन्तरिक गठ जोडको समस्याका कारण चुनावकाे विषयमा अल्मलिएको गठबन्धको शनिबारको निर्णयले वैशाखमै नभएपनि समयमै स्थानीय चुनाव हुनसक्ने संकेत देखिएको उनको भनाइ छ । आगामी जेठमा स्थानीय तहकाे चुनाव हुने करिव पक्का जस्तै भएपछि नेता कार्यकर्ताहरू चुनावकाे तयारी जुट्ने तर्खरमा छन् ।
तेस्रो आँखा डेक्स
