• ट्रेण्डिङ्ग :
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल

दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल


  • 3.0K
    SHARES
    • बैशाख ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल

    दाङ, ५ वैशाख । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो ।

    images

    धारापानी घुम्न आउनुभएका राजापुर नगरपालिका–३ मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताउनुभयो । “धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो । त्रिशूल, ॐपोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उहाँले सुनाउनुभयो ।

    धारापानीमै तुलसीपुर उपमहानगरपालिका– १९ का सविन केसी पनि भेटिनुभयो । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उहाँले सुनाउनुभयो । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उहाँले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । 

    पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि नौ किलोमिटर  दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल  बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको  त्रिशूल निर्माण गरिएको छ ।

    पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताउनुभयो । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उहाँले सुनाउनुभयो । 

    यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उहाँको बुझाइ छ । “दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।”

    अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ बर पिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउछ । 

    मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब दुई सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार नौ सय ६३ सिँढी बनाउने काम सुरु भएको छ । 

    गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताउनुभयो । सुनकोटमा  देवीको मन्दिर तयार गरेर भइसकेको छ । 

    धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिनुभयो ।   

    कोसेली घर स्थापना 

    घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई  बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । 

    दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता बस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उहाँले बताउनुभयो । आन्तरिक र बाह्र पर्यटकलाई स्थानीय उत्पादन चिनाउने र स्थानीयवासीले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा