काठमाडौं, १७ माघ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक रहेको खबर बाहिरिएका छन्। तर उनको पार्टी माओवादी केन्द्रमा भने यो विषयमा ‘दुई धार’ देखा परेका छन् । दाहाल सकारात्मक देखिए पनि एमसीसी पास हुन हुन्न भन्ने एउटा तप्का माओवादीभित्र छ । के निर्णय गर्ला त माओवादीले एमसीसी प्रकरणमा ?
तेस्रो आँखाको प्रश्नमा माओवादीका प्रमुख सचेतक देव गुरुङले सजिलो उत्तर दिए ‘हाम्रो महाधिवेशनको निर्णय नै काफी छ नि ।’ माओवादी महाधिवेशनले राष्ट्रिय स्वाधिनतामाथि खलल पुर्याउने कुनै पनि सम्झौतालाई कार्यान्वयन नगर्ने स्पष्ट निर्णय गरेको छ । गुरुङकाअनुसार माओवादीले एमसीसीकाबारेमा पनि त्यही धारणा बनाउने छ।
‘पार्टीको महाधिवेशनले राष्ट्रिय स्वाधिनतामाथि आँच आउने खालका कुनै पनि सम्झौता कार्यान्यनमा जोड नदिने भनिसकेको छ,’ गुरुङले भने ‘एमसीसीका विषयमा पनि माओवादीको धारणा यहीअनुसार क्लियर हुन्छ।’ उनकाअनुसार माओवादीले एमसीसीको अन्तरवस्तु राष्ट्रिय हित अनुकुल किमार्थ देख्ने छैन। यसलाई पास गर्ने एउटा मात्रै निर्विकल्प सर्त भनेको यसको संशोधन मात्रै हो। ‘अन्तरवस्तुमै खोट देखिएको भनेर आम रुपमा क्लियर भइसकेको कुरा हो,’ गुरुङले भने ‘यस्तो राष्ट्रिय स्वाधिनतामाथि खलल पुग्ने खालको अन्तरवस्तुलाई करेक्सन नगरेर पास गर्ने कुरै हुँदैन नि।’
फलतः कार्यदल निर्माण गरेर एमसीसीको अन्तरवस्तुमाथि मसिनो अध्ययन हुनुपर्ने र सो कार्यदलको प्रतिवेदनअनुसार कदम अगाडि बढाउने नीति माओवादीले लिने गुरुङको भनाइ छ। ‘कार्यदल बनाएर एमसीसीको अन्तरवस्तुमाथि अध्ययन गरौँ, राष्ट्रिय स्वाधिनतालाई खलल पुर्याउने खालको हो कि हैन, त्यसको विश्लेषण गरौँ,’ उनले भने ‘हाम्रो राष्ट्रिय स्वाधिनतालाई खलल पुग्ने खालको अन्तरवस्तुलाई संशोधन गरेर अगाडि बढाऔँ।’ उनका अनुसार माओवादी संशोधन गरेर प्रक्रियामा लैजाने भन्नेमा एकमत छ।
यो विषयमा माओवादीभित्र कुनै पनि विवाद नरहेकोसमेत उनले बताए। ‘एमसीसीकाे विषयमा माओवादीभित्र कुनै विवद छैन, सिंगो धारणा भनेकै संशोधन गरेर प्रक्रियामा लैजाऔँ भन्नेमा एकमत हो,’ उनले भने ‘पार्टीको महाधिवेशनले नै यही निर्णय गरेको छ भने त पार्टीको सिंगो धारणा नै त्यही हो भन्ने बुझ्नुपर्छ ।’ तर संशोधन गर्ने वा जस्ताको तस्तै पास गर्ने भन्नेमा भने गठबन्धनभित्र फरक-फरक धारणा रहेको उनले बताए ।
