काठमाडौं, १७ माघ । मिलेनियम च्यालेन्ज कर्पाोरेशन (एमसीसी) प्रकरणमा सत्तापक्षीय दलहरु बहसमा उत्रिइरहेका बेला एमाले भने सत्तापक्षको ठोस धारणा कुरेर बसेको छ। उसले अहिले नै एमसीसी के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफलसम्म नगरेको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले तेस्रो आँखालाई जानकारी दिए।
सत्तापक्षीय गठबन्धनकैबीचमा कुरा मिलि नसकेकाले यो विषयमा अहिले नै चासो राख्दा एमालेभित्र आन्तरिक विमती सुरु हुने भन्दै एमाले मौन बसेको हो। ‘हामीहरुले सत्तापक्षको ठोस निर्णय कुरेर बसेका छौँ,’ ज्ञवालीले भने ‘सत्ता पक्ष कस्तो निर्णय गरेर आउँछ, अनि हाम्रो धारणा आउँछ।’ ज्ञवालीकाअनुसार पार्टीका नेताहरुकाबीचमा एमसीसी प्रकरण बारे फरक फरक धारणा छन्। तर यी धारणाहरु व्यक्तिगत धारणा मात्रै रहेको भन्दै ज्ञवालीले पार्टीमा के गर्ने भन्ने विषयमा छलफलसम्म पनि नभएको बताए।
‘सत्तापक्षीय दलहरुको स्पष्ट धारणा नआइसकेकाले अहिले नै हामीहरुले पार्टीभित्र पनि एमसीसीको बहस चलायौँ भने पार्टीभित्र मतान्तर हुने हुन्छ, हामीले अहिले पार्टीभित्र विवाद चलाउने कुरा हुँदैन’ उनले भने ‘त्यसैले यो विषयमा अहिले पार्टीभित्र कुनै छलफल, बहस भएका छैनन्।’ गठबन्धन टुटाउने सर्तमा एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्ने प्रस्ताव राखेको विषयमा भने ज्ञवालीले यो विषय आफूले सुनेको तर एकिन भइनसकेको बताए।
‘मैले पनि यो विषय सुनेको हुँ, तर मेरो यो विषयमा अध्यक्ष ज्यूसँग कुनै पनि कुराकानी भएको छैन,’ उनले भने ‘यसर्थ यो कुरालाई मैले अहिले नै आधिकारीक मान्न सक्ने अवस्था भएन।’ तर गठबन्धन र एमसीसी फरक फरक विषय भएकाले दुवैलाई एकै ठाउँमा जोड्न नसकिने उनको भनाइ छ।
‘एमसीसी र गठबन्धन दुई फरक विषय हुन्,’ उनले भने ‘दुबै विषयलाई एक ठाउँमा जोड्ने कुरा सही हुँदैन, गठबन्धनलाई के गर्ने र एमसीसीलाई के गर्ने भन्ने विषयमा फरक फरक बाटो अपनाउनु पर्छ।’ ज्ञवालीले आफ्नो व्यक्तिगत धारणा भन्दै एमसीसी संशोधन नगरेर पास गर्न नहुने बताए। ‘यो मेरो व्यक्तिगत धारणा हो,’ उनले भने ‘एमसीसीलाई संशोधन नगरेर पासको प्रक्रियामा लगिनु हुन्न।’
