काठमाडौं, १८ माघ। सत्ता साझेदार दलहरुको गठबन्ध कहिलेसम्म रहने भन्ने अन्यौलकाबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता निर्णायक चरणमा प्रवेश गरेको छ। उक्त सम्झौता कार्यन्वायन गर्ने र नगर्ने दुईथरी अभिव्यक्ति आइरहेका छन्। सत्ता साझेदा दलहरुबीच एमसीसीको विषयमा आपसी मत भिन्नता देखिनुलाई गठबन्धनको भविष्यसँग जाेडेर हेर्न थालिएको छ।
सम्झौता अविलम्ब संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक अग्रसरता लिएको बताइएको छ। तर माओवादी र एकीकृत समाजवादी भने यही अवस्थामा एमसीसी पास गर्ने पक्षमा छैनन्। उनीहरु एमसीसीलाई परिमार्जन गरेर संसदमा टेबुल गर्नपर्ने पक्षमा उभिएका छन्। नेकपा एककिृत समाजवादी पार्टी यही अवस्थामा एमसीसी पास नगराउने पक्षमा रहेको नेता मेटमणी चौधरीले बताए। उनले तेस्रो आँखासँग भने,‘एमसीसी सम्झौता पास नगर्ने हाम्रो धारण हो, आवश्यक परिमार्जन भयो भने सोच्न सकिन्छ।’
एमसीसीसँगै सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको भन्ने विषयमा चैधरीले गठबन्धनलाई कुनै असर नपर्ने बताए। कांग्रेसले पनि एक्लै एमसीसीलाई लौजान नसक्ने चौधरीको भनाइ छ। सरकारका सहयात्रीदलहरु सम्झौता यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन्। तर कांग्रेस एमालेसँग मिलेर भए पनि एमसीसी पारित गर्ने पक्षमा उभिएको धेरैले आकलन गरेका छन् एमसीसीको विषयमा आफ्नो पार्टीले अहिल्यै कुनै धारणा नबनाएको जनता समाजवादी पार्टीले जनाएको छ। जसपाका नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एमसीसी संझौता पास गराउनुपर्ने धारण सार्वजनिक गरेका छन्। उनको उक्त धारण पार्टीको आधिकारीक धारणा नभइ व्यक्तिगत मनोकांक्षा भएको उपेन्द्र यादव समूहले बताएको छ।
बाबुराम भट्टराईको एमसीसी संझौता पास गर्नका लागि तत्काल संसदमा पेश गर्नुपर्ने धारण पार्टीको आधिकारीक धारणा नभएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। तेस्रो आँखासँगको कुराकानीका क्रममा यादवले भने, ‘एमसीसीकाबारेमा जसपाले कुनै निष्कर्ष निकालिसकेको छैन्,’ यसअघि उनले थपे ‘हामीले अहिले नै एमसीसीकोबारेमा यो गर्छौँ वा त्यो गर्छौँ भन्ने अवस्था बनिसकेको छैन।’ एमसीसी सम्झौताको विषयमा पार्टीको साझा धारणा तय गर्नका लागि छलफल भैरहेकाले चाँडै साझा धारणा सार्वजनिक गर्ने उनले बताए। यसले जसपा भित्रसमेत दुई ध्रुव देखिएको छ। एमसीसीका कारण यादव र भट्टराई समूहबीच खटपट हुने संकेत नेताहरुको प्रतिक्रियामा प्रष्ट देखाएको छ।
उता नेपाली कांग्रेसभित्र पनि एमसीसी पास गर्ने र गर्न नहुँने लामो समयदेखि बहसको विषय बनेको छ। संस्थापन पक्ष एमसीसीलाई पास गर्ने अडानमा छ भने संस्थापन इतर समूह एमसीसीका विषयमा नयाँ ढंगले धारणा बनाएर अधि बढ्ने पक्षमा रहेको नेताहरुले बताएका छन्। प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ (फागुन १६) भित्र एमसीसीबारे संसद्को औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिइसकेको कुरा सार्वजनिक भएको छ।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल यो सम्झौता अनुमोदन गर्न नसकिने अडान लिएका छन्। दुवै वामपन्थी दलभित्र यो सम्झौताको विरुद्धमा आवाज उठिरहेको नेकपा माओवादी केन्द्रका नेता देव गुरूङले तेस्रो आँखालाइ बताए । उनले भने, ‘हामी एमसीसी अनुमोदनको पक्षमा छैनौं ।’
सत्ताको अगुवा दल कांग्रेस तथा सहयोगी माओवादी र समाजवादीका नेताहरू एमसीसीले गठबन्धन नभत्किने दाबी गर्दै आएका छन्। तर, एमसीसीबारे आफ्ना अडान यथावत् रहेको पनि दोहोर्याइरहेका छन्। यो बीचमा एमसीसी रोज्ने कि गठबन्धन भन्ने स्थितिमा देउवा पुगेका छन्। त्यस्तै वाम दलहरू पनि एमसीसी छाडे सत्ता पनि छाड्नुपर्ने अवस्थाले झस्किएका छन्। एमसीसीकै कारण गठबन्धन अप्ठ्यरोमा नपर्ने नेताहरुले बताएका छन्। यही अवस्थामा एमसीसी पास भए गठबन्धन तोडिनसक्ने भन्दै देउवालाई तर्साइरहने तर सार्वजनिक रुपमा एमसीसीका कारण गठबन्धन धरापमा नपर्ने प्रतिक्रिया दिदै आएका गठबन्धनका नेताहरुलाई देउवाले कसरी समेटेर अघि बढ्छन हेर्न बाँकी छ।
