काठमाडौं, १९ माघ। राजनीतिक दलहरुले सामूहिक निर्णय गरी जनतालाई सडकमा उतारेपछि उनीहरुकै बलमा नेपालमा राजसंस्था हटेको करिव डेढ दशक भइसकेको छ। डेढ दशक अघिको दलहरुको निर्णय नै गलत भएको र देशमा हिन्दु राज्यसहितको राजसंस्था आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बताइरहेको छ। राप्रपाको सुरुदेखिकै मूल एजेण्डा पनि त्यही हो। जुन एजेण्डा बोकेर राप्रपा अहिले नागरिकमाझ पुगिरहेको छ। पछिल्लाे समयमा राजसंस्था र हिन्दु राज्य फर्काउने अभियानमा पूर्व सुरक्षाकर्मी परिषद लगायत विभिन्न संगठनहरू सकृय छन् ।
ढलिसकेको राजतन्त्रात्मक व्यवस्था र हिन्दु राज्य पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हालेका नेता कम थापा अहिले उनै राजालाई सार्वजनिक रुपमा गाली गर्दै हिडेका छन्। राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकता पश्चात भएकोे एकता महाधिवेशन पछी उनी निर्मल निवासको विरोधीका रुपमा सार्वजनिक भए। निर्मल निवास अर्थात ज्ञानेन्द्र शाह र कमल थापाबीचको वर्षै देखिको सम्बन्ध वारपारको स्थितिमा छ।
पार्टीको एकता महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुले नरुचाएका थापा एकाएक राजाविरोधी भएर निस्कीएको आभास नागरिकतहमा पुगेको छ। महाधिवेशनमा युवा पुस्ताका राजेन्द्र लिङदेनले पाखा लगाए। तर थापाले पार्टी महाधिवेशनमा राजा ज्ञानेन्द्र शाहले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउदै आएका छन्। २०६२/२०६३ को जनआन्दोलन–२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने एक सूत्रीय लक्ष्यका साथ राप्रपा स्थापना गर्दा थापालाई राजेन्द्र लिङ्देनले बलियो साथ दिएका थिए। यो महाधिवेशनमा थापाको विरासत ढालेर आफू भन्दा कैंयन वरिष्ठहरूलाईपछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देन राप्रपा नेतृत्वमा उदय भएका नेता हुन्।
पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल मार्फत वेलावेलामा चर्चामा आइरहने थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाईसमेत विभिन्न विषयमा पत्र लेखिरहेका छन्। थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेप सम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्छन्। निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजन मण्डली हुन नदिनेसमेत बताएका थिए शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएकाले राजसंस्था पुनःस्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुन सक्ने आशंकासमेत उनले गरेका छन्। पार्टी राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको उनी बताउँछन्। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाकाबारेमा भ्रम सिर्जना गर्ने/गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको थापाको आरोप छ। राप्रपालाई राजाको ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने समेत उनले प्रष्ट भनिकेका छन्।
हरेक संसदीय निर्वाचनमा चुनाव लड्न देखि विभिन्न धार्मिक कार्यक्रममासमेत राजाबाटै करोडौं रुपैयाँ लिएका थापा र निर्मल निवासबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखिनै चिसिदै गएको जानकारहरु बताउँछन्। राजासँग मोटो रकम लिएरपनि राजाको पक्षमा देखावटीरुपमा मात्र लागेको थापालाई आरोप लाग्ने गरेको छ। राजसंस्था र हिन्दु राज्यको पक्षमा निरन्तर वकालत गरिरहेकाहरु थापाले राजालाई पटक-पटक धोका दिएको बताउँछन्। तर थापा भने गत महाधिवेशनसम्म राजालाई बोकेर हिडेको दाबी गर्छन्।
विदेशीको लगानीमा आफ्नो एजेण्डा छाडेर राजाकै विपक्षमासमेत थापाले अभिव्यक्ति दिने गरेका घटनाले पनि राजा र थापाको सम्बन्धमा दरार आएको राजा र थापा निकटस्थ जानकारहरु बताउँछन्। २०६२/०६३ को आन्दोलनमासमेत उनले राजालाई गतल रिपोर्टीङ गरेर धोका दिएको राजसंस्थासहितको हिन्दुराज्यका अभियान्ताहरूकाे भनाइ छ। राजाले विगतका निर्वाचनहरुमा सबै दलहरुलाई चुनाव खर्च दिन थालेको र राप्रपालाई खर्च कम आउथे पछि थापाले राजा प्रति नकारात्मक टिप्पणीहरु गर्न थालेको उनीहरू बताउँछन्। यसदेखि नै राजा र थापको सम्बन्ध विस्तारै चिसिदै गएको हाे । पार्टीको आन्तरिक चुनावी परिणामलाई लिएर नाङ्गो रुपमा प्रस्तुत भएका थापा र पूर्व राजा ज्ञानेन्द्रको सम्बन्ध सुधार हुने अवस्था अहिल्यै देखिदैन्।
शक्ति र अवसरमा सधै अघाडि रहने थापाको विगत
कमल थापा राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृहमन्त्री थिए। उनी टेबल टेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल संघकाे अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए। राजतन्त्रप्रति बफादार देखिने थापाको राजनीति बहुदल आएपछि सुरू भएको हैन। उनी पञ्चायतकालमै बलियो खम्बाका रूपमा स्थापित थिए। पञ्चायतको जगजगी चलेका बेला उनी पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्षसमेत भएका थिए।
कमल थापाको सत्तारोहण भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०५२ बाट सुरू भएको थियो। देउवा नेतृत्वको सरकारमा उनी एक वर्ष कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए। त्यसपछि २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री भएका थिए। सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी २०५४ सालमै केही समय परराष्ट्र र कृषिमन्त्री भए। सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी २०५४ सालदेखि एक वर्ष परराष्ट्र मन्त्री भएका थिए। सूर्यबहादुर नेतृत्वकै सरकारमा उनी २०६० देखि २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री बनेका थिए। राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा उनी २०६२ देखि २०६३ सम्म गृहमन्त्री भएका भए।
गणतन्त्रपछि केपी ओली नेतृत्वको सरकारमा उनी २०७२ देखि २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री भए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमासमेत उनी २०७३ फागुनदेखि चैतसम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भए। त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारमा थापा २०७४ मा उपप्रधानमन्त्री नियुक्त भएका थिए। गणतन्त्र घोषणापछि थापाले प्रतिनिधित्व गरेका तीन वटा गणतान्त्रिक सरकार खाए पनि उनको पार्टीको विचारधारा निकै टाढा थियो। सधै सत्तामा रहिरहने र त्यसका लागि आफ्नो मुल एजेण्डालाई समेत तिलाञ्जलि दिन पछि नपर्ने थापाको प्रवृतिका कारण राजासँगको उनको दुरी बढ्दै गएको सहज बुझ्न सकिन्छ। माओवादी त उनको पार्टीको विचारसँग कहिल्यै नजिक छैन, एमाले र कांग्रेसले हिन्दु राष्ट्र र राजतन्त्रको विचार त्यागिसकेका शक्ति हुन्। तर पनि पदकै लागि गरिने ती शक्तिहरुसँगको गठजोडका निरन्तर लागिरहेको इतिहाँस छ।
२०६३ देखिको चिसोपन अहिले उत्कर्षमा
२०६३ सालमा प्रतिनिधि सभा पुन:स्थापनासँगै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल अन्त्य भयो र थापा पनि गृहमन्त्रीबाट बिदा भए। थापाको दरबारसँग सम्बन्ध त्यहीबाट तिक्ततापूर्ण छ भन्ने गरिन्थ्यो। २०६३ सालको जनआन्दोलनताका गृहमन्त्री हुँदा थापाले दरबारलाई नै ‘मिसगाइड’ गरेको आरोप खेप्नु परेको छ। थापालाई रथ यात्राका नाममासमेत राजासँग मोटो रकम लिएर खाने गरेको आरोप छ। यीनै कारणले गर्दा यसपटकको राप्रपाको एकता महाधिवेशनमा थापालाई निर्मल निवासले सघाउन नसकेको धेरैले अनुमान गरेका छन्।
पार्टीको एकता महाधिवेशको परिणाम लगत्तै थापाले शितल निवास र पूर्वराजा ज्ञानेन्द्रलाई मेन्सन गरेर ट्वीटरमै ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिडेको पुरस्कार आज पाइयो ’भनेका थिए। दशक अघिदेखि सुरु भएको राजासँगको चिसोपन पार्टी महाधिवेशन पछि उत्कर्षमा पुगेको देखिन्छ। उनले राजालाई गाली गर्दै सार्वजनिक रुपमा लेखेका छन, ‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ उनको यो कुराले राजासँगको सम्बन्धमा थप दरार आएको छ। निर्मल निवाससँग बिग्रदै गएको उनको सम्बन्धकाबारेमा नागरिकस्तरसम्म पुगिसकेको छ। सत्ताका माहिर खेलाडी थापा र राजसंस्था पुनः स्थापनाको पर्खाइमा बसेका पूर्व राजा ज्ञानेन्द्र शाहको चिसिएको सम्बन्ध अहिल्यै सुधार हुने देखिदैन्।
