काठमाडौं, १९ माघ। जहिल्यै निर्णायक शक्ति बनेर नेपाली राजनीतिलाई आफू अनुकुल मोड्न खोज्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिल्यै यो भूमिकाबाट विमुख हुन चाहँदैनन्। जसरी पनि नेपाली राजनीतिको ‘पासा’ आफूतिरै पल्टाउन खोज्ने प्रचण्डको पकडमा अबको नेपाली राजनीति रहला कि नरहला भन्ने आशंका चुलिएको छ।
२०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेर स्थानीय तहमा आफ्नो स्वार्थ पूरा गरेका प्रचण्डले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नी छोरी रेणु दाहाललाई ‘छोरी’ भन्न बाध्य तुल्याइदिए। यो उनको ठूलो राजनीतिक चतुर्याईँका रुपमा बुझ्न गाह्रो पर्ने कुरै भएन।
स्थानीय तहको निर्वाचनमा कांग्रेससँग ‘काँध’ जोडेका दाहाल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले कित्तामा ‘हाम’ फाल्न गइपुगे। एमालेसँग चुनावी गठबन्धन कायम गरेर प्रदेशसभा र प्रतिनिधिसभामा ‘सुहाउँदो’ सिट कायम गरेका प्रचण्डका लागि कांग्रेससँगको ‘पारपाचुके’ फलदायी बन्यो। संसदमा बनेको यो हैसियतले प्रचण्डलाई नेपाली राजनीतिको ‘स्टेरिङ’ मोड्ने भूमिकाबाट टाढा रहन दिएन।
एमालेसँग पार्टी एकता गरेर ‘नेकपा’ को उदय गराएका प्रचण्ड सत्ताको गद्दीमा आसिन त भएनन्। तर संसदको सबै भन्दा ठूलो दलको अध्यक्ष बन्ने अहो भाग्य उनलाई प्राप्त भयो। यही अध्यक्षकै हैसियतमा प्रचण्डलाई पुनः नेपाली राजनीतिको प्रमुख ‘हर्ताकर्ता’ का रुपमा उभ्याइदियो। ओली प्रचण्ड ‘कनेक्सन’ मा देखिएको खटपटले प्रचण्ड ओलीकाबीचमा राजनीतिक ‘सम्बन्ध बिच्छेद’ भयो। सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्किन आदेश दिए पनि प्रचण्ड नेपाली राजनीतिको स्टेरिङबाट ‘आउट’ भने भएनन्। उही राज्यसत्ताको निर्णायक भूमिकामा टाँसिइरहे। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताको कुर्सीबाट गलहत्याउन निर्णायक ‘रोल’ खेलेका प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा उभ्याइदिए। आफू गठबन्धन ‘साझेदार’ दलको नेता भनेर प्रचण्ड उसैगरी नेपाली राजनीतिको निर्णायक बने।
लामो समयदेखि नेपाली राजनीतिमा गर्माएको ‘प्रचण्ड ताप’ अब पनि उसैगरी ‘रापिएला’? विकसित पछिल्लो राजनीतिक घटनाक्रमले गम्भिर प्रश्न उब्जाइदिएको छ। अमेरिकाबाट भित्रिन खोजिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशनको ‘छायाँ’ ले नेपाली राजनीतिको रापिलो प्रचण्ड तापलाई ढपक्कै छोप्ने होकी भन्ने संशयमा प्रचण्ड स्वयं छन्। यती मात्रै हैन, आफू र आफ्नो पार्टीको ‘ओज’ लाई कसरी तापमान कायम गरिरहने भन्ने सकसमा प्रचण्ड छन्।
सत्ता साझेदार दल कांग्रेसका सभापति तथा प्रधानमन्त्रीको एमसीसी पास गर्नैपर्ने ‘निर्विकल्प’ प्रस्ताव प्रचण्डका लागि टाउको दुखाइको विषय बनिरहेको छ। गठबन्धन कायम गर्ने एक मात्रै ‘उपाय’ का रुपमा एमसीसीलाई देखाएका देउवाको प्रस्तावमा सहजै ‘एस’ भन्ने अवस्थामा प्रचण्ड छैनन्। नेपाली समाजमा एमसीसीकाबारेमा बनेको नकारात्मक धारणाले भोली पार्न सक्ने अप्ठ्यारोदेखि प्रचण्ड सजग छन्। यसर्थ उनी एमसीसीका विषयमा देउवासँग काँध जोड्न तयार देखिन सकिरहेका छैनन् ।
त्यसो त, एमसीसी पासका सम्बन्धमा देउवासँगै उभिनका लागि प्रचण्डलाई पार्टीको आन्तरिक सहयोग पनि रहने देखिन्न । एमसीसी पास हुने थलो प्रतिनिधिसभामा आफ्नै पार्टीबाट प्रतिनिधित्व गरिरहेका सभामुख अग्नि प्रसाद सापकोटा एमसीसीको बिपक्षमा छन्। अनि दोस्रो तहका नेता कृष्णबहादुर महराहरु मेत एमसीसीको विरोधमा उभिएका छन्। आफ्नै पार्टीका नेताहरुको चाहना बमोजिम प्रचण्डलाई एमसीसीकाबारेमा सकारात्मक बन्न सानो सकस छैन। एमसीसीकाबारेमा सकारात्मक धारणा बनाए प्रचण्डले पार्टीभित्रै ठूलो संघर्ष गर्नुपर्ने अवस्था आउने सम्भावना अधिक रहन्छ। नत उनलाई एमसीसीकाबारेमा नेताहरुकाबीचमा साझा धारणा बनाउन नै सहजता छ।
यता गठबन्धन जोगाउनका लागि एक मात्रै बिकल्पका रुपमा आफ्ना सामु तेर्सिएको एमसीसीलाई सहजै नकार्न नै सकिरहेका छन् प्रचण्डले। गठबन्धन कायम नभए आगामी निर्वाचनमा आफ्नो र आफ्नो दलको भूमिका निकै कमजोर बन्ने सम्भावित खतरा देखि जानकार छन् उनी । एमसीसीका विषयमा देउवासँग काँध नजोडे गठबन्धन तोडिने सम्भावित खतराका सामु रहेका प्रचण्ड देउवासँग काँध जोडे पाटीभित्र ‘राष्ट्रिय स्वाधिनताको विरोधी’ अध्यक्षका रुपमा परिभाषित हुनेछन् ।
