काठमाडौं, १९ माघ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा विभिन्न राजनीतिक दलहरुमा बहस चलिरहेका बेला राप्रपाले एमसीसीलाई ‘हुबहु’ पास गर्न नहुने निर्क्याेल गरेको छ। उसले आफू एमसीसीको पक्षमा नरहेको तर राष्ट्रिय सहमति कायम गरेर शंशोधनसहित विदेशी सहायताको योजनालाई स्वीकार गर्न सकिने धारणा बनाएको छ।
तेस्रो आँखासँग कुराकानी गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली नागरिकहरुसमेत विभाजित भइरहेकाबेला एमसीसीलाई एकलौटी ढंगबाट पास गर्न खोजिए त्यसले ठूलो असर पार्ने बताए। ‘राप्रपा एमसीसीको पक्षमा छैन, तर यसलाई राष्ट्रिय सहमति कायम गरेर परिमार्जनसहित प्रक्रियामा लगिए हाम्रो आपत्ति हुन्न,’ उनले भने ‘हामी पनि विदेशी सहायता योजनाको विरोधी त हैनौँ।’ तर उनले एमसीसीमा धेरै अस्पष्टताहरु रहेकाले यसलाई जस्ताको तस्तै पास गर्न खोजिए मुलुकमा ठूलो द्वन्द हुने चेतावनीसमेत दिए।
‘५५ अर्बको योजनाले हाम्रो मुलुकलाई दिर्घकालिन असर नगरोस्,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ‘अहिले एमसीसीका विषयमा जतालाई यसका बारेमा स्पष्ट रुपमा बुझाउने काम सरकारले गरोस्, अनि मात्रै यसको खराब पक्षलाई हटाएर मात्रै प्रक्रियामा लगियोस् भन्नेमा राप्रपा स्पष्ट छ।’
यसअघि कुनै पनि आर्थिक सहायताको योजनालाई संसदमा पास गर्नु नपरेको तर एमसीसीलाई मात्रै किन पास गर्नु परेको ? भन्दै उनले प्रश्न गरे। ‘यस अघिसम्म नेपालमा कुनै पनि आर्थिक सहायता सम्बन्धी परियोजनालाई संसदबाट पास गर्नुपरेन, एमसीसीलाई मात्रै किन संसदबाटै पास गर्नुपर्ने परिस्थती बन्यो?’ उनले भने ‘जबकी यही एमसीसीलाई पनि अन्य मुलुकहरुमा संसदबाट पास गर्नै परेन।’ एमसीसीका विषयमा नमिलेका बिषयहरुमा राप्रपाले छलफल गर्न सक्ने भन्दै उनले अस्पष्ट भएका बिषयहरुमा राज्यले स्पष्ट पार्न सक्नु पर्ने बताए। तर बहुमतको बलमा संसदबाट जवरजस्ती यसलाई पास गर्ने रणनीति सरकारले बनाएको देखिएको भन्दै उनले यस्तो अवस्थामा राप्रपा चुप लागेर नबस्ने समेत बताए।
‘एमसीसीले नेपालमा विकसित गरेका फरक फरक धारणालााई राज्यले सम्बोधन गर्नैपर्छ,’ अध्यक्ष लिङ्देनले भने ‘तर बहुमतको बलमा यसलाई जवरजस्ती पास गर्न खोजे मुलुकमा नयाँ द्वन्दको सिर्जना हुने पक्का छ।’ उनले एमसीसीका प्रत्यक बुँदा-बुँदामा छलफल आवश्यक रहेकोसमेत बताए ।
