काठमाडौं, १९ माघ। राप्रपाका उपाध्यक्ष तथा पूर्व मन्त्री बुद्धिमान तामाङले दलहरु असक्षम भएका कारण राजाले शासन सत्ता हातमा लिएको बताएका छन्। त्यतिबेला राजनीतिक दलहरुले तत्कालीन माओवादी समस्या समाधान गर्न नसकेको र उक्त समस्या समाधान गर्नका लागि राजाले सत्ता लिएको तामाङले बताएका हुन्।
तत्कालीन सात राजनीतिक दल र माओवादीको एजेण्डा राज संस्था फाल्ने नभएको पनि उनले खुलासा गरे। बुधबार तेस्रो आँखासँग कुरा गर्दै तामाङले विदेशी शक्तिका आडमा राज संस्था फालिएको बताए। उने भने,‘ तत्कालिन अवस्थामा माओवादी र सात राजनीतिकदलको एजेण्डा राजसंस्था र हिन्दुराज्य फाल्ने थिएन।’ निरङ्कुश राजा हटाउनु पर्छ भनेर लागेका दलहरुले विदेशी शक्तिको लहैलहैमा राजसंस्था र हिन्दुराज्य नै मासेको उनको आरोप छ।
देशको प्रतिकका रुपमा राजा चाहिने भन्दै उनले नेपालमा जनमत संग्रह गरे हिन्दुराज्य सहितको राजसंस्था स्थापना हुने जिकीर गरे। राप्रपाको मुख्य एजेण्डा नै राजसंस्था पुनःस्थापना, हिन्दु राज्य स्थापना र संघीयताको खारेजी रहेको उनले बताए। प्रदेशको कुनै काम नभएको भन्दै तामाङले यस विषयमा जनमत संग्रह गर्नुपर्ने धारण व्यक्त गरे।
तीन वर्ष शासन सञ्चालन गर्ने र माओवादी समस्या समाधान पछि जनताको नासो जनतालाई नै फर्काउने घोषणा सहित राजले शासन सत्ता हातमा लिएको उनको भनाइ छ। तामाङ राजाको शासन कालमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री आपूर्ति मन्त्री थिए। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डल भंग गरी मुलुकको शासन व्यवस्था आफ्नो हातमा लिएका थिए। देउवा नेतृत्वको सरकार विघटन गरी राजाकै अध्यक्षमा मन्त्रीपरिषद गठन भएको थियो।
