काठमाडाैं,२० माघ । सरकारले स्थानीय तहकाे निर्वाचनकाे मिति नताेक्दा सम्म् फाेटाे सहितकाे मतदाता नामावली संकलन गर्ने निर्वाचन आयाेगले जनाएकाे छ । स्थानीय चुनावलाई लक्ष्य गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो ।
उक्त अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको आयोगले जनाएको छ । यस अभियानमा १६ वर्ष पुगेकाको विवरण पनि समेटिएकाले मताधिकार प्राप्त १८ वर्ष उमेर पुगेकाको संख्या यकिन भइसकेको छैन ।
अभियान सकिए पनि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन, ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको निर्वाचन आयाेगका सह प्रवक्ता काेमल धमलाले जानकारी दिए । उनका अनुसार २०७७ पुस ५ सम्म मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० थियो । यसमा १० लाख मतदाता थप हुने अनुमान गरिएकाे छ ।
निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने सहप्रवक्ता धमलाले बताए । मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने उनकाे भनाइ छ । सरकारले निर्वाचन आयोगले स्थानीय चुनावका लगि प्रस्ताव गरेको जेठ ४ लाई घोषणा गर्ने सम्भावना छ ।
आयोगले ७ सय ५३ स्थानीय तहकै निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रस्तावलाई सरकारले सकारात्मक रूपमा लिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारीमा जुटेकाे बताइएकाे छ ।
