काठमाडौं, २० माघ । नेपाल प्रहरीको ‘नक्कली सई’ बनेर लुटपाट गरेका एक व्यक्तिलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। नक्कली सई बनेर लुटपाट गरेका घोराही १७ का अनिल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले आफू नेपाल प्रहरीको सई भएको भन्दै दुई जनाबाट दुई थान मोबाईल र ४ हजार रुपैयाँ लुटेका थिए।
गत १७ गते राती १० बजेतिर घोराहीकै मार्शल पुन र सन्तोष खड्का आफ्नो कोठातर्फ जाने क्रममा मोटरसाईकलमा आएका अनिलले आफू प्रहरीको सई भएको र खानतलासी गर्नुपर्ने भन्दै उनिहरुको साथबाट दुई थान मोबाईल र चार हजार रुपैयाँ लुटेका थिए।
अनिलले सई भएको भन्दै उनिहरुमाथि हातपात समेत गरेका थिए। प्रहरीमा उक्त जानकारी आएपछि प्रहरीले अनिलको खोजतलास गरेको थियो। प्रहरीको नियन्त्रणमा रहेका अनिलले आफूले सई बनेर लुटपाट गरेको समेत स्वीकारेको प्रहरीले जनाएको छ।
