एमसीसीबारे के भन्छन् आमनागरिक ?

एमसीसीबारे के भन्छन् आमनागरिक ?


  • 11.2K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    एमसीसीबारे के भन्छन् आमनागरिक ?

    काठमाडौं, २० माघ । पछिल्लो समयमा अमेरेकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) निकै चर्चामा छ। एमसीसीकै कारण नेपालको सिंगो राजनीति विभाजित बनेको छ। एमसीसी अहिले आमनागरिककोसमेत बहसको विषय बनिरहेको छ। नेपाली राजनीतिलाई तरंगित बनाइरहेको एमसीसीकाबारेमा आमनागरिक के भन्छन् त ? बिहीबार काठमाडौंमा भेटिएका केही नागरिकहरुलाई तेस्रो आँखाकर्मी पदम भुजेलले सोधेका छन्।  

    images

    डिबी थापा

    मैले एमसीसी पढेको पनि छु। एमसीसी परियोजना नेपालले अनुमोदन गर्नुपर्छ जस्तो मलाई लाग्छ। तर केही बुँदा भने संशोधन गर्नुपर्छ। संशोधन नगरेर एमसीसी पास गर्नुहुँदैन।

    जितेन्द्र बहादुर मिश्रा

    एमसीसी पास भएपछि अमेरिकी सेना आउछ, नेपाल ध्वस्त हुन्छ भन्ने जुन किसिमको अफवाह फैलाइएको छ यो गलत छ। यस अवस्थाले नेपाललाई अमेरिकाले मात्र नभएर कुनै पनि देशले दिएको सहयोग र अनुदान नलिने अवस्थामा पुर्याउन सक्छ। यसर्थ मुलकको आर्थिक विकासका निम्ती संसदबाट यसलाई पारित गर्नु पर्छ ।

    सुदर्शन खड्का

    म एमसीसीको पक्षमा छु, विपक्षमा छु भन्नु भन्दा पनि अहिले एमसीसी राष्ट्रिय बहसको विषय बनेको छ। यसलाई पारित गर्ने वा के गर्ने भन्ने सार्वभौम अधिकार संसदलाई छ। यो संसदसँग जोडिएको विषय भएकाले यसलाई संसदले निणर्य गर्नुपर्छ। मलाई एमसीसीका बारेमा सबै कुरा थाहा छैन, तर मुख्य बुँदाहरु सामान्य अध्ययन गरेको छु।

    मुकेश महर

    राजनीतिक दल र नेताहरुले एमसीसीलाई गीजोलेर सबैमा नकरात्मक प्रवाह गरेका छन्। एमसीसी संसद बाट पारित गर्नै पर्ने भए तत्काल संसदमा लैजानु पर्छ। संसदमा लगेपछि पास फेल जे भएनी एउटा निणर्य हुन्छ नि।

    कमला भण्डारी

    यो एमसीसी मलाई ठिक लागेको छैन। यसमा गलत नियत देखिन्छ नै। यदि यो सहयोग मात्र भए अमेरिकाले यसलाई पारित गर्न भनेर पटक पटक दवाव किन दिइरहेको छ ? एमसीसी नेपाललाई विशुद्ध रुपमा दिएको सहयोग भए यसरी अमेरिकाले पारित गर्न या नगर्न ताकेता गर्नु पर्ने थिएन नि।  त्यसैले यसमा कतै न कतै खोट त छ नै। यसलाई पूर्णबिचार गरेर मात्रै पास गर्नुपर्छ। 

    कुशल बुढा

    नेपालले पारित गर्नु हुँदैन। मागेर र अरुले दिएर देश कहिल्यै धनी हुँदैन। नेपाललाई विकास गर्ने नै भए एनसेलले नदिएको रकम, कारोडौं मात्रामा भएको भ्रष्टचारको रकम उठाएमा एमसीसीले दिएको भन्दा बढी रकम उठ्छ।

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • पदम भुजेल
    लेखकबाट थप