काठमाडौं, २१ माघ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले हिमाली, उच्च पहाडी भेगमा हिमपात भइरहेको छ। ती स्थानमा अत्याधिक हिमपात भएसँगै अन्य धेरै ठाउहरुमा वर्षा भएको छ। हिमपातका कारण केही स्थानमा राजमार्ग अवरुद्ध भएका छन्। यो अवस्था आइतबारदेखि मात्रै सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि देशका हिमाली जिल्लादेखि काठमाडौंसम्म हिउँले ढाकेको छ।
भारी हिमपातका कारण कृषकको जनजीवन कष्टकर बनेको छ भने घुमन्तेहरुका लागि रमाइलो लागेको छ। खेति किसानी गरेर जीविकोपार्जन गर्नहरुका लागि हिमपातले कही निस्कन नसक्ने अवस्था बनाएको उच्च पहाडी तथा हिमाली भेगका स्थानीयले बताएका छन्। यता, केहीलाई भने हिउँ रमाइलाे गर्ने माध्यम बनेकाे छ। युवा पुस्तका व्यक्तिहरुलाई हिउँमा खेली रहेकाे तस्वीरहरु सार्वजनिक भएका छन्।
बिहिबार रातिदेखिको वर्षा र हिमपातले बाक्लो हिउँ जमेपछि हिमाली क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। हिमपातका कारण स्थानीयको दैनिकीमा प्रभाव परेको भएको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका स्थानीय मेखबहादुर मगरले बताए। हिमपातका कारण घर बाहिर निस्कन सक्ने अवस्था नरहेको गाइ बस्तु स्याहार्न समस्या भएको उनको भनाइ छ। पशुपालन र खेति किसानी गर्नेहरुका लागि हिमपातले समस्या बनाएको मगरले जानकारी दिए। बाक्लो हिउ जमेकाले सडक समेत अवरुद्ध भएको मगरले बताए।
देशका २ हजार मिटर भन्दा माथिका क्षेत्रमा परेको हिउँले पशुपालन, कृषि खेति गर्ने कृषकका लागि निकै कष्टकर बनाएको मोलुङ गाउँपालिका वडा नम्बर ८ पात्लेका वडा अध्यक्ष हेम सुनुवारले बताए। गाइ, भैसी, भाख्रा, याक, चौरी, लगायत पशुपालक कृषकहरु अहिले गोठमा आगो बालेर बसेका छन्। अत्याधिक चिसोमा कतिपय पशुचौपाय मर्नसक्ने खतरासमेत रहेको उनको भनाइ छ। कृषकहरुसँग न्यानो कपडा, जुत्ता चप्पल प्रसस्त नहुँने हुँदा चिसोले कठ्याङ्ग्रिएको र दिनभरजसो बस्तु गोठमा आगो बाल्नुपर्ने बाध्यता रहेको सुनुवारले बताए।
कहाँ कहाँ भयो हिमपात ?
गयरातीदेखि परेको हिउँले सडक अवरुद्ध भएपछि ओखलढुंगा सोलु आवतजावतमा पनि कठिनाई भएको छ। ओखलढुंगा–सोलु सडक खण्डमा यातायात सञ्चानल हुन नसकेको ओखलढुंगाका ट्राफिक प्रहरी इन्चार्ज पदम प्रसाद भट्टराइले जानकारी दिए। विगुटार, जन्तरखानी, पात्ले, रावादोलु, भुसिंगा, खिजिदेम्बा लगायत सोलुको सिमानामा पर्ने अधिकांश स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयहरु बताउँछन।
त्यस्तै संखुवासभाको माथिल्लो भेगमा बाक्लो हिउँ परिरहेको त्याका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। देशभर जस्तै संखुवासभामा पनि अहिले वर्ष भैरहेको छ। सोलुमा अत्याधिक चिसोका कारण घरबाट मानीसहरु बाहिर निस्केका छैनन्। गयरातिदेखि अत्याधिक हिमपात भएको स्थानीयले जानकारी दिए। पूर्वको भोजपुर, ताप्लेजुङ जिल्लका उच्च पहाडी क्षेत्रमा हिउ परिरहेको छ। त्यसैगरी मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ। बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ। मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी, चामे, दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ।
हुम्ला, मुगु, मुस्ताङ, दैलेख, सल्यान, कालिकोट, डोटीसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ। काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ। काठमाडौंको फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरीसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ।
पश्चिमी वायुको प्रभावले भएको वर्षा र चिसो बढेसँगै जिल्लाको उच्च भेगमा हिउँ परेको हो। जिल्लाको जिल्लामा यो वर्ष भारी हिमपात भएको यो दोस्रो पटक हो। हिमपात भएपछि हिउ खेल्न जाने आन्तरिक पर्यटकको संख्या बढेको समेत बढेको छ। ओखलढुंगाका उच्च स्थानहरुसँगै सोलुखुम्बुका अधिकांश क्षेत्रहरु हिमपातमय भएका छन्। हिमपातका कारण नागरिकको दैनिकीमा प्रभाव परेको छ। चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ। हिउँले चन्द्रागिरीको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन्। चन्द्रागिरी डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो। हिमाली जिल्लाहरुमा भने नियमित हिउ पर्नेगरेको छ। यसअघि गत पुस दोस्रो साता देशभर हिमपात भएको थियो।
वर्षासँगै परेको भारी हिमपातले कृषकलाई कष्टकर बनाए पनि सरकारी गैर सरकारी क्षेत्रमा काम गर्ने कर्मचारी, राजनीतिक नेता कार्यकर्ता लगायतलाई रमाइलो भएको छ। उनीहरु एक दिन हिउँ खेल्नपाउदा रमाइलो मान्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हिउँ खेल्न जाने गरेको बताउँछन्। सधैजसो हिउँमै बस्नुपर्ने कृषकहरु भने दैनिक जनजीविकामा असर परेको बताउँछन्। अहिले परेको हिउँ हप्तादिन सम्म नसकिने भएकाले पशुचौपाय पाकल कृषकलाई समस्या हुने उनिहरुको भनाइ छ। अझै केही दिन मौसममा सुधार नआउने मौसमविद्हरूले जानकारी दिएका छन्। देशभर भारी वर्षा भइरहेको र शनिबार बिहानसम्मको मौसम यस्तै अवस्थामा रहने बताएका छन्।
