नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय समिति बैठकअघि पार्टीका केन्द्रीय पदाधिकारी र अन्य कमिटीमा सहमति जुटाउन नेताहरूसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रचण्डले मुख्य गरी अर्का नेता नारायणकाजी श्रेष्ठसँगको छलफललाई प्राथमिकतामा राखेका छन् ।
त्यो बाहेक अन्य केन्द्रीय सदस्य र सहयोद्धाहरूसँग राय सुझाव लिइरहेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । उनले सहमतिबाटै पदाधिकारी चयन गर्ने तयारीमा अध्यक्ष प्रचण्ड रहेको भन्दै त्यसको गृहकार्यमा अध्यक्ष प्रचण्ड जुटेको जानकारी पाएको बताए । ‘अहिलेसम्म सहमतिकै लागि प्रयास भइरहेको छ’, सापकोटाले भने, ‘सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने धेरै केन्द्रीय सदस्यको भनाइ छ, नभए मतदानमा जाने अर्को विकल्प पनि खुला नै छ ।’
सो पार्टीको गत पुस १८ गते सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा चयन गरेको थियो । त्यसबेला नेता वर्षमान पुन चीनमा उपचाररत रहेकाले उनी स्वदेश फर्केपछि बस्ने अर्को बैठकले अन्य पदाधिकारी चयन गर्ने माओवादीले घोषणा गरेको थियो ।
तर, पुस २५ गतेलाई बोलाइएको दोस्रो बैठकमा नेता पुन नफर्किसकेको र कोरोना सङ्क्रमणबाट शीर्ष नेता नै पीडित हुन थालेपछि बैठक सारेर माघ ८ लाई पुर्याइएको थियो । उक्त मितिमा समेत बैठक बस्न सकेको थिएन । नेता पुन गत माघ १० गते स्वदेश फर्किसकेका छन् । नेता पुनले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटे स्वीकार्ने र मतदान भए आफूले महासचिवमा उम्मेदवारी दिने बताइसकेका छन् ।
