काठमाडौं, २३ माघ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पास गर्ने नेताहरुको गोप्य सहमति चार महिना पछि बाहिरिएको छ।
प्रधानमन्त्री ताथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गत असोजमै सहमति भएको थियो। असोज १३ गते गरेको उक्त सहमति पत्र अहिलेसम्म गोप्य राखिएको थियो।
एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको पत्रमा देउवा र प्रचण्डले हस्ताक्षेर गरेका छन्।
एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार/पाँच महिनाको समय मागेका थिए।
‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं,’ द्वय नेता देउवा र दाहालले हस्ताक्षर गरेको संयुक्त पत्रमा उल्लेख छ।
एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि समय माग गरेको गोप्य उक्त पत्र करिव चार महिनापछि सार्वजनिक भएसँगै नेताहरुको प्रवृतिमाथि प्रश्न उठेको छ।
